निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था
Sunday, May 29th, 2022, 5:21 pm
Kalpristha
सरकारले मिर्गौला रोगीहरुको निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् ।
त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।
पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन
सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् ।
मासिक १० करोडभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगलाई महशुलमा छुट
आयात प्रतिस्थापन गर्न स्वदेशमा उत्पादन उपभोग र निर्यात सम्भावना भएको कृषि उद्योग र उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरेर उत्पादन बढाइने भएको छ । यस्तै, उत्पादनको सम्भावना भएका कृषिजन्य वस्तु उत्पादन र प्रशोधन गर्दै आयात प्रतिस्थापनमा जोड दिइने छ ।
नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइने समेत अर्थमन्त्री जनार्दन शर्माले बताए । यसैगरी, उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, फुटवेयर र खानेपानी जस्ता वस्तुको निर्यात प्रबद्र्धन गरिने छ । यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ । मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई २ प्रतिशतसम्म छुट दिइने व्यवस्था बजेटले गरेको छ ।
औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब बजेट
सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
उक्त रकम देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ । यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गरिने छ ।
किसान पेन्सन योजनाको घोषणा
सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।
कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट
सरकारले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट बिनियोजन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा बजेट भाषण गर्दै सो घोषणा गरेका हुन्
आगामी वर्ष आयात २० प्रतिशत घटाइने, ५ वर्षमा व्यापार सन्तुलन
सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने जनाए ।
उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरे । यस्तै, आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने समेत बताए ।
प्रदेश र स्थानीय तहलाई कुन शीर्षकमा कति बजेट छुट्टयाइयो ?
वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । यस्तै, सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अब रुपैयाँ विनियोजन भएको छ ।
यसका साथै, पूर्वाधार सम्बन्धी आयोजना पुरा गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको छ । यस्तै, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।
यस्तै, राजश्व बाँडफाँडतर्फ प्रदेशलाई १ खर्ब ६१ अर्ब रुपैयाँ रकम हस्तान्तरण हुनेछ ।