अब ६८ वर्षमै वृद्धा भत्ता
Sunday, May 29th, 2022, 5:39 pm
Kalpristha
सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।
वन तथा वातावरण क्षेत्रमा १३ अर्ब विनियोजन
सरकारले वन तथा वातावरण क्षेत्रमा १३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले कुल १३ अर्ब बजेट पेश गरेका हुन् ।
यस्तै राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिलाई २ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ ।
शिक्षा क्षेत्रका लागि ७० अर्व ५ करोड बजेट
सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।
त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ । सरकारले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने भएको छ ।
मेडिकल शिक्षाका लागि विदेशी विद्यार्थी आकर्षण बढाउन मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने सरकारले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत यस्तो जानकारी दिएका हुन् ।
उनले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रवन्ध गरिएको पनि जनाए । उनले खेलकुद संघलाई दिएको अनुदान वृद्धि गरिएको बताए ।