मेयर विष्टले सफाई गरे बागेश्वरी मन्दिर परिसर
Sunday, May 29th, 2022, 7:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ जेठ
१५औं गणतन्त्र दिवसको अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिरमा सरसफाई कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्धिन राईले सरसफाई कार्यक्रमको सुरुआत गरेका थिए ।
दि होप नामक संस्थाले आयोजना गरेको सरसफाई कार्यक्रममा मेयर विष्ट र उपमेयर राईले बागेश्वरी मन्दिर परिसरमा अन्य युवाहरुसँगै सरसफाई गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले गणतन्त्र दिवसको अवसरमा नेपालगन्जवासीलाई हार्दिक शुभकामना दिदैं सरसफाई कार्यक्रम नेपालगन्ज सहरका लागि निकै महत्वपुर्ण भएको बताए । उनले भने, ‘नेपालगन्ज नगरले पनि सरसफाई अभियान नै सुरुआत गर्दैछ । नेपालगन्जको मुख्य समस्या फोहोर व्यवस्थापन हो । सरसफाइन र सौन्दर्यकरण हाम्रो प्राथमिकतामा छ ।’
नगरका जनताको समस्यालाई समाधान गर्ने योजना सहित अगाडी बढने बताउँदैं मेयर विष्टले सरसफाई अभियानमा साथ दिन सम्पुर्ण नगरवासीलाई अपिल गरेका छन । उनले थपे,‘हामीले पक्की नाला त बनायौं । तर सरसफाईमा ध्यान दिन सकेका छैनौं । यसलाई कसरी सुधार गरेर सहरलाई सुन्दर बनाउने भन्नेमा हामी काम गरिरहेका छौं ।’
नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरेर दि होपले आयोजना गरेको सरसफाई कार्यक्रममा नेपालगन्ज नगरका कर्मचारी र सामाजिक क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
दि होपका अध्यक्ष चन्दन राजदासले समाजको लागि केहि सेवा गर्ने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको बताए । जनचेतना जगाउनका लागि सरसफाई कार्यक्रम गरिएको उनले बताए ।