सर्वोच्च अदालतमा संविधान संशोधन विधेयकमाथि बहस सुरु
Sunday, January 1st, 2017, 9:02 pm
amit
सर्वोच्च अदालतमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न माग गर्दैै दायर गरिएको रिट निवेदनमाथि आजदेखि बहस सुरु भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बहस सुरु भएको हो ।
निवेदक अधिवक्ता टीकाध्वज खड्काका तर्फबाट अधिवक्ताहरु शम्भु थापा, डा चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराईलगायत बहस गर्नुभयो । उहाँलेहरुले संविधानमा सीमाङ्कन गर्न प्रदेशलाई अधिकार हुँदा प्रदेशको सहमतिबिना सीमाङ्कन गर्न नपाइने भएकाले संविधान संशोधनको विधेयक संविधान विपरीत भएको उल्लेख गर्नुभएको थियो ।
अधिवक्ता खड्काले मङ्सिर १५ गते र पूर्वसांसद मञ्चका तर्फबाट पूर्वसांसद विष्णुबहादुर राउतसहित पाँच जनालेसंविधान संशोधन गर्ने र सीमा हेरफेर गर्ने अधिकार व्यवस्थापिका–संसद्लाई नभएको भन्दै गत मङ्सिर १६ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
सर्वोच्च अदालतले गत मङ्सिर २३ गते कारण देखाउ आदेश जारी गरी अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफलका लागि आजलाई बोलाइएको थियो । भोलि सरकारको पक्षबाट बहस हुनेछ । रासस