नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेसले गर्यो सम्मान
Sunday, June 5th, 2022, 8:57 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आइतबार एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सञ्जय कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य गौतम, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति गौडेल लगायत अन्य अतिथिहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टिका र खादा लगाएर सम्मान गरेका थिए ।
बाँकेमा कांग्रेसबाट ६ जना प्रमुख÷अध्यक्ष, ६ जना उपप्रमुख÷उपाध्यक्ष र २८ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै नेताहरुले पार्टीको शिर उँचो राख्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । पार्टीसंग समन्वय गरेर जन–आकांक्षा अनुसार काम गर्न उनीहरुको आग्रह छ । पार्टीको शाखलाई जोगाउँदै उत्कृष्ट सेवा प्रवाह र सुशासन कायम गर्न विशेष ध्यान दिनुपर्नेमा नेताहरुको जोड छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले पार्टीसंग समन्वय गर्दै जन–भावनालाई केन्द्रविन्दुमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनप्रतिनिधिहरुले पार्टी नीति अनुरुप अघि बढ्ने बताउँदै पार्टीको विश्वासलाई डग्मगाउन नदिने दृढता व्यक्त गरे ।
कार्यक्रममा केन्द्रीय सदस्यद्वय गौतम र बाल्मिकी, प्रदेश सभापति पुन, जिल्ला सभापति गौडेल, प्रदेश सह–महामन्त्री निमा गिरी, पूर्व मन्त्री एवम् कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल, पूर्व सभापति कृष्णमान श्रेष्ठ, निवर्तमान सभापति किरण कोइराला, महासमिति सदस्य मेघराज ओली, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता, प्रदेश १ का सभापति लक्ष्मण थारु, कोहलपुर नगरपालिका सभापति विरेन्द्र कुमार शाह, महिला संघकी अध्यक्ष नारायण रुपाखेतीलगायतले बोलेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र डुडुवाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जनचाहना अनुसार काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्ण कुमार कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।