२७ गते समन्वय समितिको निर्वाचन हुने
Monday, June 6th, 2022, 8:18 pm
Kalpristha
जिल्ला समन्वय समिति बाँकेको निर्वाचन जेठ २७ गते हुने भएको छ । जेठ २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय इकाईस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।
निर्वाचनका लागि बाँकेमा रहेको आठवटै स्थानीय तहका प्रमुख तथा उप–प्रमुखसहित १६ जनाको मतदाता नामावली प्रकाशन गरिएको छ ।
मंगलबार भने अन्तिम नामावली प्रकाशन गरिने छ भने २५ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिने छ । साथै २६ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिमा कांग्रेसको एकल बहुमत छ । कांग्रेसका १२ जना मतदाता छन् । स्थानीय चुनाव र कार्यपालिका चुनावमा गठबन्धन गरेको कांग्रेसले जिल्ला समन्वय समितिमा के गर्छ भन्ने टुंगो अझै छैन् ।
जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुन्छन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन ०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।
अन्य तीन जना सदस्यहरु गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरुबाट उम्मेदवार भएर आउँछन् । उनीहरु पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।
जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुन्छन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुन्छन् ।