यसरी रोकियो मन्त्रिपरिषद् हेरफेर गर्ने योजना
Monday, June 6th, 2022, 8:24 pm
Kalpristha
नेकपा एकीकृत समाजवादी पार्टीको आइतबार बसेको सचिवालय बैठकले आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो । सो निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।
सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष नेपाल आइतबार बालुवाटारबाट बाहिरिएका थिए । लगत्तै मन्त्रिपरिषद् हेरफेरको चर्चा आइतबार दिनभर चुलियो । सरकारबाट पार्टीले फिर्ता बोलाएका नेकपा एकीकृत समाजवादीका नेताहरुले तत्कालै प्रधानमन्त्री देउवासँग भेट गर्न चाहेका थिए तर त्यो सम्भव भएन ।
नेकपा एकीकृत समाजवादीको यो निर्णयले गठबन्धन र सरकार दुवैमा असर पर्ने भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्न सुझाव दिएको स्रोत बताउँछ ।
सोमबार बिहानै नेकपा एकीकृत समाजवादीका चार जना मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठले प्रधानमन्त्री देउवासँग भेट गरी मन्त्रीबाट हटाएको विषयमा गुनासो गरेका थिए ।
स्रोतका अनुसार उनीहरुले बजेटको बारेमा संसदमा छलफल भइरहेको छ, त्यसको जवाफ दिन बाँकी नै रहेको भन्दै नयाँ मन्त्रीलाई मन्त्रालयगत बजेटको बारेमा केही थाहा नहुने भएकाले संसदमा जवाफ दिनसमेत कठिन हुने तर्क गरेका थिए ।