लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
Sunday, June 12th, 2022, 8:24 pm
Kalpristha
आइतबार लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको बसेको बैठकले प्रदेश प्रमुख अमिक शेरचनद्वारा गत जेष्ठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रमलाई बहुमतले पारित भएको हो ।
सभामुख पूर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमत संख्याले पारित गरेसँगै नीति तथा कार्यक्रम पारित भएको हो ।
सभामा सम्वोधनको क्रममा मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बोधन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले लुम्बिनी प्रदेशका माननीयहरुलाई लुम्बिनीको विकासका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरे ।
लुम्बिनी प्रदेश सरकारले समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी भन्ने मूल नारालाई व्यावहारिक रुपमा कार्यन्वयन गर्नका लागि क्रियाशिल रहेको बताउँदै आगामी वर्षको बजेटमा परिमार्जित र परिकृष्ट बनाउनको लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।
मुख्यमन्त्री केसीले संवोधनको क्रममा राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासमा एक हुनका लागि सबै माननीयहरुलाई अपिल गरेका थिए । प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिको क्षेत्रमा लगानी गर्ने बताउँदै त्यसका लागि प्रदेश सरकार जिम्मेवार भएको उनले बताए ।
केसीले लुम्बिनी अस्पताल, लुम्बिनी विश्व विद्यालय, प्रदेशको राजधानी र केही गौरवको आयोजना र आम जनताको जीवनस्तर माथी उठाउनको लागिसमेत आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।