भोलिदेखि देशभर जहाज र हेलिकप्टर नचल्ने
Tuesday, June 21st, 2022, 2:56 pm
Kalpristha
वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निणर्यको विरोधमा संघले यस्तो निणर्य गरेको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निणर्य गरेको हो । सरकारको निणर्यमा चित्त नबुझेका कारण अत्यावश्यक सेवा बन्द गर्ने घोषणा गरेको संघले जनाएको छ ।
सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ । अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन् ।
उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निणर्य गरेको थियो ।
प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने भएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिकप्टरको हकमा मंगलबार र जहाजको हकमा असार १३ गतेबाट यो नियम लागू हुँदैछ ।