प्रदेशमा कांग्रेसको वर्चश्व
Tuesday, June 21st, 2022, 8:03 pm
Kalpristha
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएका पालिकाका प्रमुख÷उपप्रमुखले मतदान गरी जिल्ला समन्वय समिति चयन गर्ने प्रावधान रहेको छ । सोही अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला समन्वय समिति चयन भइसकेको छ ।
प्रदेशका १२ वटै जिल्लामा जिसस नेतृत्व चयन हुँदा कांग्रेसले ६ वटा जिल्लामा प्रमुख र ३ वटामा उपप्रमुख जितेर जिससमा वर्चश्व कार्यम गर्न सफल भएको हो ।
स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी भने लुम्बिनी प्रदेशका जिल्ला समन्वय समितिमा शून्य भएका छन् ।
गठबन्धनमा नरहेको लोकतान्त्रिक समाजवादी पार्टीले दुईटा पालिकामा उपप्रमुख हात पार्दा गठबन्धनमै रहेका जसपा र एकीकृत समाजवादीले भने लुम्बिनी प्रदेशका कुनै पनि जिल्लामा प्रमुख÷उपप्रमुख पाउन सकेनन् ।
स्थानीय तहहरूमा गठबन्धन गरेर चुनाव लडेका सत्तारूढ पाँच दलीय गठबन्धनले अधिकांश जिल्लाको समन्वय समितिमा पनि गठबन्धन गर्दा एमाले भने एक्लै रहेको थियो । गठबन्धनविरूद्ध एक्लै निर्वाचनमा भाग लिएको नेकपा एमालेले पनि ४ वटा जिल्लामा प्रमुख र २ वटामा उपप्रमुख जितेर दोस्रो भएको हो भने नेकपा माओवादी केन्द्रले २ वटा जिल्लामा प्रमुख र ५ वटा जिल्लामा उपप्रमुख जितेको छ ।
निर्वाचन आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले पनि २ वटा जिल्लामा उपप्रमुख जितेर जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीलाई उछिनेको छ ।
लोकतात्रिक समाजवादी पार्टीले कपिलवस्तु र रूपन्देहीको उपप्रमुख जितेको छ ।
नेपाली कांग्रेसले रूपन्देही, दाङ, बाँके, गुल्मी, प्युठान र बर्दियामा प्रमुख तथा दाङ, बाँके र बर्दियामा उपप्रमुख जितेको छ ।
त्यस्तै, नेकपा एमालेले पाल्पा, अर्घाखाँची, नवलपरासी र कपिलवस्तुमा प्रमुख तथा पाल्पा र अर्घाखाँचीमा उपप्रमुख जितेको छ ।
अर्घाखाँची र पाल्पामा सत्ता गठबन्धन भन्दा एमाले एक्लै बलियो भए पनि पश्चिम नवलपरासी र कपिलवस्तुमा भने एमाले कमजोर रहेको थियो। ती जिल्लामा पनि एमालेले प्रमुख पद जित्न सफल भएको छ ।
नेकपा माओवादी केन्द्रले रोल्पा र रूकुमपूर्वमा गठबन्धन नगरी प्रमुख जितेको छ भने रोल्पा, रूकुमपूर्व, गुल्मी, प्युठान र नवलपरासी पश्चिममा उपप्रमुख जित्न सफल भएको निर्वाचन आयोगले जनाएको छ ।