असार १७ देखि राष्ट्रपति कप रनिङ शिल्ड हुँदै
Tuesday, June 21st, 2022, 8:07 pm
Kalpristha
बाह्रौ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आउँदो असार १७ गतेदेखि १९ गतेसम्म हुने भएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा बसेको राष्ट्रपति कप रनिङ शिल्ड तयारी समितिको बैठकले प्रतियोगिता वेलझुण्डीस्थीत रंगशालामा आयोजना गर्ने निर्णय गरेको हो ।
तयारी समितिका सदस्य सचिव पदमा चौधरीका अनुसार प्रतियोगितामा विभिन्न विधाका ६ वटा खेल समावेश हुनेछन् । भलिवल, एथ्लेटिक्स, कराते, कवडी, तेक्वान्दो र उसु गरी ६ विधाका खेल राष्ट्रपति कम प्रतियोगितामा समावेश हुनेछन् ।
दाङमा खेल मैदान अभावका कारण उसु भने हुने छैन । प्रतियोगितामा स्थानीय तहबाट छनौट भएका खेलाडीहरुले भाग लिन पाउने छन् । स्थानीय तहमा यो प्रतियोगिताकालागी खेलाडी छनौट गर्ने काम सम्पन्न भैसकेको छ । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
मंगलवार जिल्ला समन्वय समितिमा बसेको बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख वेगम केसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, सशस्त्र प्रहरी घोराहीका प्रमुख डिएसपी हेमराज न्यौपाने, खेल क्षेत्रका अगुवा केदारराज श्रेष्ठ, खेलकुद विकास समितिका पूर्व कार्यालय प्रमुख सुमन कुमार घले, खेलकुद प्रशिक्षकहरु भीम विश्वकर्मा, राकेश परियार, विरुभाइ बज्राचार्य, बलराज नेपाली, शिव विकलगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिताकालागी संघीय सरकारले सामाजिक विकास डिभिजन कार्यालयमार्फत साढे ३ लाख रुपैया विनियोजन गरेको छ । यद्धपि प्रतियोगिताकालागी कम्तिमा ७ लाख रुपैयाँ आवश्यक पर्ने प्रतियोगिता तयारी समितिले जनाएको छ ।
बैठकमा थप सहयोगकालागी जिल्लाका पालिकाहरु तथा अन्य औद्योगिक प्रतिष्ठानहरुलाई आग्रह गरिने छलफल भएको थियो । हरेक वर्ष आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कोरोना भाइरसको संक्रमणका कारण विगत दुइ वर्ष आयोजना हुन सकेको थिएन ।