बाँकेमा लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
Tuesday, June 21st, 2022, 8:11 pm
Kalpristha
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस बाँकेमा भब्यताका साथ मनाउने निर्णय गरिएको छ ।
मंगलबार नेपालगन्जमा जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा सरोकारवाला निकाय बिच भएको छलफलले बाँकेमा लागूऔषध प्रयोग र ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भब्यताका साथ मनाउने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रजिअ टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवाला निकाय बिचको बैठकले बाँकेमा पनि सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
बाँकेमा गरिने सप्ताहव्यापी कार्यक्रम अनुसार ८ र ९ गते बाँकेमा रहेका सबै पुनःस्थापन केन्द्रले पायक पर्ने चोक तथा सार्वजनिक स्थलमा लागूऔषधिसम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने, १० गते नेपाल–भारत सिमाक्षेत्र जमुनाह नाकामा लागूऔषध सम्बन्धी चेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, ११ गते भेरी अस्पताल हाताभित्र रहेको रेडक्रस भवनमा रक्तदान कार्यक्रम गर्ने र लागूऔषध नियन्त्रण अधिकारीबाट लागूऔषध सम्बन्धी गतिविधि तथा सो सम्बन्धी डाटा सार्वजनिक गर्ने, १२ गते लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध प्रभातफेरी कार्यक्रम गर्ने र ८ गतेदेखि १२ गतेसम्म सचेतनामूलक रेडियो जिंगल प्रशारण गरी बाँकेमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरिएको बाँकेका सहायक प्रजिअ टोपेन्द्र बहादुर केसीले बताए ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ लाई भब्यताका साथ सफल पार्न रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले तीन दिनको कार्यक्रमको संयोजनको जिम्मा लिएको छ भने रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रवीण बिसीले जुन २६ लाई सफल बनाउन सम्पूर्णमा अपिलसमेत गरेका छन् ।
छलफल कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, लागू औषध दुरुपयोग नियन्त्रण तथा यसै संग सम्बन्धित काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, नर्सिङ कलेजका प्रतिनिधि, अस्पतालका प्रतिनिधि तथा बाँकेमा रहेका पुनःस्थापन केन्द्रका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।