नक्कली सुन कारोबारी पक्राउ
Tuesday, June 21st, 2022, 8:25 pm
Kalpristha
कोहलपुरबाट नक्कली सुनका गर–गहनासहित कोहलपुर प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई महिला र पाँच पुरुष रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेमा कोहलपुरका निर्मला बोहरा, मनुराधा बपाल मगर, खजुराका तिलक सुनार, अर्घाखाँची घर भई कोहलपुर बस्ने सन्तोष सुनार, नवराज विश्वकर्मा, बैजनाथका दिनेश सुनार र पाल्पाका बाबुराम सुनार रहेका छन् ।
कोहलपुर क्षेत्रका सुन पसलहरुमा उनीहरुले सुन बिक्री वितरण र धरौटी राखेर रकम लिएको अनुसन्धान खुल्न आएको कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथ प्रहरीले नक्कली सुनको छड्के तिलहरी ३ थान, माईली तिलहरी १६ थान, बाला ८ थान, मरहरी १ जोडी, जुली १ जोडी, नक्कली चाँदीको चुरा १ जोडी, चिप्टी २ थान, सुन काट्ने कंैची २ थान र हतौंडा १ वटा समेत बरामद गरेको छ ।
त्यसैगरी सनासो १ थान, पित्तलको पाता १ थान, औठी बनाउने फलामको डण्डी १ थान, ताल बराही ज्वैलर्स लेखेको ठेली १ थान, मालिका सुनचाँदी पसलको ठेली १ थान, पञ्चमुखी ज्वैलर्स लेखेको ठेली १ थान, सुन पगाल्ने ग्यास पप्प १ थान, सुन सुकाउने पम्प १ थान र नगद चालिस हजार समेत बरामद भएको बताइएको छ ।
पक्राउ परेका सातै जनामाथि ठगी सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको कोहलपुर प्रहरीले जनाएको छ ।