कोहलपुरले ल्यायो विद्यालय शिक्षादेखि सिकलसेल कार्यक्रम
Wednesday, June 22nd, 2022, 8:05 pm
Kalpristha
बाँकेको कोहलपुर नगरपालिकाले बुधबार ११औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाले आर्थिक वर्ष २०७९/८० लागि नीति तथा कार्यक्रम पेस गरेको छ । जसमा शिक्षा र स्वास्थ्यलाई जोड दिइएको छ ।
कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम ल्याएका हुन् । आचार्यले नगर सभाको बैठकमा नीति तथा कार्यक्रमले चुनावकै बेला गरेका वाचाहरुलाई पछ्याउँदै नीति तथा कार्यक्रम ल्याएका छन् ।
शिक्षा क्षेत्रमा आचार्यले विद्यालय छाडने प्रवृत्तिलाई न्यूनीकरण गर्न ‘विद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउने’ कार्यका लागि दिवा खाजा कार्यक्रम तथा विद्यार्थी प्रेरित कार्यक्रम नीति तथा कार्यक्रममा रहेको सभामा उल्लेख गरिएको छ ।
कार्यक्रममा उप–प्रमुख संगीता सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सिकलसेल एनिमियालाई पनि प्राथमिकता दिएको बताइन् । सिकलसेलसम्बन्धी पाठ्यपुस्तक तयार गरी लागू गर्ने उल्लेख गरिएको छ ।
पश्चिम नेपालका थारु समुदायमा सिकलसेलको अवस्था भयावह देखिएको छ । कोहलपुरमा पनि थारु समुदायको बाक्लो बसोबास रहेको छ ।
पालिकाका थारु समुदायमा गरिएको स्क्रिनिङमा करिव १५ प्रतिशतमा वंशाणुगत सिकलसेल रोग फेला परेको छ ।
थारु समुदायलगायत अन्य समुदायमा पनि देखिएको सिकलसेल रोग न्यूनिकरणका लागि बालबालिकालाई सचेत पार्न जरुरी छ ।
त्यही भएर नगरपालिकाले नीति तथा कार्यक्रममा सिकलसेल एनिमिया सम्बन्धी पाठ्यपुस्तक निर्माण गरी लागु गर्ने विषयलाई समेटेको हो ।
यस्तै सिकलसेल एनिमिया तथा थालेसेमियाको स्क्रिनिङ पछि बिरामी र बहाकहरुको व्यवस्थापन गर्न नगरक्षेत्रमा रहेका विशेषज्ञहरुको समन्वयमा आवश्यक कार्यक्रम संचालन गरिने छ । सिकलसेल ल्याव संचालन सुधारमा ल्याउने भएको छ ।
यसका अलवा नगरविकास, सरसफाइ, कृषिलगायतका विषयलाई पनि प्रथमिकतामा राखेको सुवेदीले बताइन् ।