बाँके भलिबलको नेतृत्वमा चन्द
Wednesday, June 22nd, 2022, 8:09 pm
Kalpristha
बाँके जिल्ला भलिबल संघको अधिवेशनले चिरनजीवी चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
चन्द यसअघि उपाध्यक्ष थिए ।
संघको उपाध्यक्षमा रीता कोइराला, महासचिवमा यमनारायण महतो, कोषाध्यक्ष सुमनसिंह बस्नेत सर्वसहमत निर्वाचित भएका छन् ।
सदस्यहरुमा पूर्ण खत्री, चन्द्र राना, डिबी तामाङ, डिबी बस्नेत र मनिराम बटाला निर्वाचित भए ।
प्रदेश प्रतिनिधिमा कृष्णा पाठक र यमबहादुर महतारालाई चयन गरेको छ ।
नेपाल भलिबल संघका सचिव एवं केन्द्रिय प्रतिनिधि भीम ओलीको उपस्थिति तथा लुम्बिनी खेलकुद परिषद्का कार्यकारी सदस्य नरेन्द्र थापाको आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशन भेलामा पूर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, पूर्व अग्रज खेलाडी एवं प्रशिक्षक लालबहादुर मल्ल, राजेश श्रीवास्तव र रोशन श्रेष्ठको उपस्थिति थियो ।
जिल्ला संघमा दुईजना उपाध्यक्ष रहने प्रावधान छ । नेपाल भलिबल संघको विधान बमोजिम अध्यक्ष चन्दले दोस्रो उपाध्यक्ष मनोनयन गर्ने छन् । साथै बाँकी सदस्यहरु कार्यसमितिले मनोनयन गर्नेछ । दुईजना सदस्य जिल्ला खेलकुद विकास समितिले पठाउनेछ । नवनिर्वाचित अध्यक्ष चन्दले अघिल्लो कार्यसमितिले गरेका सम्पूर्ण आर्थिक पक्षका साथै सबै कामको अपनत्व ग्रहण गरी नयाँ ढंगले संघलाई अगाडि बढाउने बताए ।
नेपाल भलिबल संघका केन्द्रीय सचिव भीम ओलीले बाँके जिल्लाले गरेका कामलाई केन्द्रले उच्च मूल्यांकन गरेको बताए ।
पूर्व अन्तर्राष्ट्रिय रेफ्री अजित शर्माले पछिल्लो पुस्ताले जिल्लामा गरेको गतिविधिले आफूहरुलाई गौरवबोध गराएको बताए ।
करिब एक दशक नेतृत्वमा रहेका टीएस ठकुरीले औपचारिक रुपमा भलिबलको सम्पूर्ण जिम्मेवारीबाट अलग्गिने निर्णय लिएको घोषणा गरे । यद्यपी भलिबलको अभियानमा आफू दृढ रहेको उनले बताए ।
बाँके जिल्ला भलिबल संघको महत्वाकांक्षी कार्यक्रम प्रधानमन्त्री कप महिला भलिबल विगत आठ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ ।