छात्रवृत्ति कटौती गर्दा मुक्तकमलरी समुदाय समस्यामा
Wednesday, June 22nd, 2022, 8:20 pm
Kalpristha
मुक्त कमलरीले राज्यले छात्रवृत्ति कटौती गरिदिदा आफूहरु समस्यामा परेको बताएका छन् । उनीहरुले छात्रवृत्ति नपाउँदा पढाईसमेत छोड्नुपर्ने बाध्यता आएको बताएका हुन् ।
मुक्त कमलरी विकास मञ्चले बुधबार घोराहीमा पत्रकार सम्मेलनमा बोल्दै मुक्त कमलरी आशा चौधरी अहिले कसरी अध्ययन गर्ने भन्ने चिन्तामा परेको बताइन् । पैसाको अभाव हुँदा पढाई छुट्ने होकी भन्ने चिन्तामा रहेको उनले बताइन् । राज्यले बजेटमा कटौती गर्दा आफूहरु समस्यामा परेको उनको भनाइ थियो ।
कक्षा १२ सम्म सरकारले मुक्त कमलरी छात्राहरुलाई छात्राबृत्ति दिने गर्छ । पहिले स्थानकोत्तर पढनका लागि बजेट दिए पनि अहिले बजेटमा कटौती गरिएको कार्यक्रममा जनाइएको छ ।
मञ्चका पूर्वअध्यक्ष मञ्जिता चौधरीले सरकारले बजेट काटिदिँदा मुक्त कमलरीहरु पढाइ छोडनु पर्ने वाध्यता भएको बताइन् । यसका बारेमा सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि माग पूरा नभएको उनले बताइन् । सरकारले २ वर्ष यता छात्रवृत्ति नदिएको उनले गुनासो गरिन् ।
‘हामीले धेरैपटक माग गरेउ तर माग सुनाइ भएन अव पनि माग सुनाइ नभए आन्दोलनमा जाने छौ,’ मञ्जीताले भनिन् ।
कार्यक्रममा सरकारले बेवस्था गर्दा कमलरी मुक्त भएको २२ वर्षसम्म पनि कमलरीहरुले परिचयपत्र प्राप्त गर्न नसकेको गुनासो गरे । सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको उनीहरुको भनाइ थियो ।
अहिले पनि धेरै मुक्त कमलरीहरुले परिचय पत्र पाउन नसकेको भन्दै परिचय पत्रको व्यवस्था गर्नुपर्ने उनिहरुको माग रह्यो ।
अंकिता चौधरीले अहिले व्याचलर प्रथम वर्षमा छात्रवृतिमा पढन पाउने नीति ल्याए पनि त्यसका लागि चाहिने कागज पत्र पु¥याउन नसक्ने अवस्था रहेको कार्यक्रममा बताइन् । प्रथम वर्षमा भए पनि दोस्रो वर्षबाट के गर्ने भन्ने अन्यौल रहेको उनले बताइन् ।
‘घर परिवार कोही नभएकाले कसरी नाता प्रमाणीकरण गर्ने हो’ उनले भनिन् ।
पत्रकार सम्मेलन मुक्त कमलरी विकास मञ्चका केन्द्रीय सचिव निर्मला चौधरीको अध्यक्षतामा भएको थियो । विष्णु चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सुनिता चौधरीले गरेकी थिइन् ।