नेपालगन्जको बजेट १ अर्ब ६३ करोड, १ सय ८ फिट अग्लो हनुमानको मूर्ति बनाइने
Thursday, June 23rd, 2022, 7:08 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०७९-०८० का लागि १ अर्ब ६५ लाख ७२ हजार ४ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । साथै नेपालगन्जमा एक सय आठ फिट अग्लो हनुमानको मूर्ति पनि बनाइने भएको हो ।
नगरले नेपालगन्जमा संचालन गरेको ११औं नगरसभामा प्रमुख प्रशान्त विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक सय आठ फिट अग्लो हनुमानको मूर्ति बनाउने उल्लेख गरेका हुन भने उप–प्रमुख कमरुद्दीन राईले आगामी वार्षिक बजेट प्रस्तुत गरेका छन् ।
सभामा प्रमुख विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उप–प्रमुख राईले बजेट पेस गरेका हुन् । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभा आयोजना गरिएको छ । प्रमुख विष्टको सभाध्यक्षतामा संचालन सभामा नेपालगन्ज उप–महानगरपालिकाका सबै जनप्रतिनिधिहरु उपस्थिति रहेका थिए ।
मेयर विष्ट नेपालगन्ज शहरको फरक पहिचान हुनेगरी एक सय आठ फिट अग्लो हनुमानको मूर्ति निर्माण कार्य अगाडि बढाइएको बताएका छन् । त्यस्ते कार्यक्रममा प्राचीन टाँगाको संरक्षण र सम्वद्र्धन गर्ने पनि उल्लेख गरिएको छ ।
त्यसैगरी प्रमुख विष्टले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिरको संरक्षण, सम्वद्र्धन, सौन्दर्यकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरुयोजना बनाइने उल्लेख गरेका छन् । उनले नगरभित्रका तालतलैयाको संरक्षण गर्ने, नेपालगन्जलाई क्लीन, ग्रिन र हेल्थी सिटीको रुपमा विकास गर्ने, पार्किङको व्यवस्थापन गर्ने, बजार क्षेत्रलाई फ्रि–वाइफाइ जोनको रुपमा विकास गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गर्ने बताए ।
साथै मातृ भाषामा पठनपाठनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, नेपालगन्जलाई मेडिकल हबको रुपमा विकास गर्ने, दूध, तरकारी, फलफूल र मासुमा आत्मनिर्भर बनाउने, ईरिक्सा व्यवस्थापन गर्नेलगायत समेटिएको छ ।
यसैगरी जमुनाहा नाका, बसपार्क र राझा विमानस्थलमा हेल्थ हेस्क संचालन, कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान तथा व्यवस्थापन, दुई वर्षभित्र क्षेयरोग मुक्त नगर घोषणा, प्रसुती सेवालाई सुदृढीकरणका नीतिहरु नगरले ल्याएको विष्टले बताए ।
त्यस्तै नगरले भूमि व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ । सार्वजनिक र सरकारी जग्गाको संरक्षण तथा अभिलेख गर्ने, आगामी वर्षभित्र भूमिहीनलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने विष्टले बताए ।
त्यसैगरी उप–प्रमुख राईले बजेटमा यो वर्षको हालसम्मको आम्दानीको स्थितिले आन्तरिक स्रोत अनुमानको शतप्रतिशत लक्ष्य प्राप्त हुने बताए । यसअघि आर्थिक वर्ष २०७७–७८ मा उप–महानगरपालिकाको आन्तरिक राजश्वतर्फ १७ करोड ४१ लख १० हजार आय अनुमान गरिएकोमा कोरोनाका कारण राजश्व क्षमतामा कमी आई १४ करोड एक लाख ५० हजार ५ सय ७ रुपैयाँ ५८ पैसा असुल भई करिव ८१ प्रतिशत लक्ष्य हासिल भएको थियो । यस आवका लागि अनुमानित १४ करोड ७ लाख रुपैया मात्र भएकोमा हालसम्म १३ करोड ४० लाख ५३ हजार ३ सय १४ रुपैया संकलन भएको छ ।
राईले आगामी आवको आन्तरिक स्रोतको आय १५ करोड ६९ लाख १० हजार रुपैयाँ प्रस्ताव पेस गरेका छन् ।
नेपालगन्जको कूल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाएर कार्यान्वयन गर्नुपर्ने देखिएको राईले बताए ।