कोहलपुरले ल्यायो १ अर्ब १६ करोडको बजेट
Thursday, June 23rd, 2022, 7:23 pm
Kalpristha
बिहीबार कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदीले ११ औं नगरसभामा १ अर्ब १६ करोड ४६ लाख रुपैयाँको बजेट पेस गरेकी छिन् । जसमा आन्तरिक राजश्वबाट २० करोड ३१ लाख ९५ हजार, संघीय सरकारबाट प्राप्त ९८ करोड १ लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान ५ करोड १६ हजार, नगरविकास कोषको ऋण अनुदान ५ करोड तथा संचित कोषमा मौज्दात हुन आउने अनुमान १२ करोड रहेको छ ।
त्यस्तै संघीय सरकारको निसर्त तर्फको बजेट ७१ करोड २ लाख र संघीय सरकारबाट प्राप्त सशर्त तर्फ २४ करोड ८४ लाख र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त १ करोड १० लाख रुपैयाँलाई विभिन्न क्षेत्रगत विनियोजन गरिएको छ ।
बजेटमा प्रशासनिय खर्च १७ करोड ८० लाख, सामाजिक विकास तर्फ ८ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा शिक्षामा ६ करोड ३५ लाख, स्वास्थ्यमा १ करोड ३५ लाख, महिला बालबालिका तथा समाज कल्याणमा १८ लाख ५० हजार, आयुर्वेदमा ११ लाख र सामाजिक विकास शाखामा ५२ लाख ५० हजार रुपैयाँ बजेट रहेको छ ।
पूर्वाधार विकास तर्फ २८ करोड ८६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमा क्रमागत तथा बहुवर्षीय योजनामा १४ करोड १ लाख ५० हजार, ठूला भौतिक पूर्वाधार योजना ११ करोड १ लाख, म्याजिक फन्ड ३ करोड र भैपरी आउने पुँजीगतमा ७५ लाख रुपैयाँ रहेको छ ।
आर्थिक विकास शाखामा १ करोड ६० लाख रुपैयाँ वजेट विनियोजित गरको सुवेदीले बताइन् । जसमा कृषि विकासमा ५० लाख, पशुपंक्षी तथा मत्स्य विकास ५० लाख र आर्थिक विकास शाखामा ६० लाख रुपैयाँ रहेको छ ।
वातावरण तथा विपद् व्यवस्थापनमा ९९ लाख ५० हजार रहेको छ । वडास्तरीय योजनामा ८ करोड ३० लाख रुपैयाँ रहेको छ । नगरस्तरीय चालू योजनामा ४ करोड ९४ लाख रहेको छ । संघीय वित्तीय हस्तान्तरणअन्तर्गत ३६ करोड ९४ लाख रहेको छ ।
साथै कार्यक्रममा शुलभ खाना तथा खाजा घर संचालन गर्ने, नगर पालिकाको विकासका लागि सद्धावना दुत नियूक्त, विज्ञहरुको नीति समूह गठन गरी भावि स्वरुप कस्तो हुने विषयमा दक्ष विज्ञको राय सुझाव लिई प्रारुप तयार पार्न देश विदेशमा रहेका व्यक्तिहरुलाई खुल्ला आह्वान गरी उत्कृष्ट प्रारुप पेश गर्ने दक्ष विज्ञलाई उचित पुरस्कार प्रदान गर्नसमेत वजेट विनियोजन गरिएको छ ।
कोहलपुर वजारमा सिसिटिभि जडानका लागी समेत वजेट विनियोजन गरिएको छ । यस्तै सर्पदंश उपचार केन्द्र र रेविज रोगको उपचारकोलागी आवश्यक वजेट विनियोजन गरिएको छ । नगर प्रमुख छात्र वृत्ति कोषको लागि १० लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ । श्रम बैंक र युवा रोजगारकोलागी वजेट विनियोजन गरिएको छ ।