सम्झौता सकिन १४ दिन बाँकी, ४० प्रतिशत काम सम्पन्न
Sunday, June 26th, 2022, 10:42 am
Kalpristha
‘अहिले चक्रबहादुर शाह सम्पर्कविहीन हुनुहुन्छ । उहाको फोन त लाग्छ तर फोन उठ्दैन,’ अधिकारीले भने । शाहलाई जिल्ला प्रशासन कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले पनि धेरै पटक फोन गरेको तर नउठेको अधिकारीले बताए ।
विक्रम बुढाक्षेत्री
बाँकेको नेपालगन्जस्थित परसपुर-गौघाट रोडअन्तर्गत खजुरा गाउँपालिका-२, सी गाउँमा पर्ने किरणनालामा निर्माणाधीन पुलको काम ४० प्रतिशतमात्रै सम्पन्न भएको छ । १५ महिना सम्झौता अवधिमा सम्झौता सकिन १४ दिन बाँकी रहँदा उक्त पुलको पिलर पनि पूणर्रुपले बनेको छैन ।
जसका कारण यो वर्ष पनि खजुरा गाउँपालिका वडा नम्बर १ र २ का वडावासीले सास्ती पाउने पक्का रहेको छ । वडावासीका लागि उक्त पुलको विकल्पमा ६ किलोमिटर उत्तरमा खजुरा वा दक्षिणमा जलपोखरीमा रहेको पुलको प्रयोग गर्नु पर्ने बाध्यता रहन्छ ।
प्रदेश सरकारको बजेटमा निर्माण भई रहेको उक्त पुल गत २०७७ फागुन १९ गते सडक पूर्वाधार विकास कार्यालय, नेपालगन्जसँग गल्भा/सिद्धार्थ दर्शन जेभिले २०७९ असार २५ गतेसम्म निर्माण सम्मन गर्नेगरी सम्झौता गरेको थियो । तर उक्त सम्झौता अनुसार गल्भा/सिद्धार्थले काम गरेको देखिएको छैन । उक्त पुलको लागत ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँ रहेको छ । जसमा २० प्रतिशत रकम निर्माण कम्पनीले लगिसकेको छ ।

.
उसोत सडक पूर्वाधार कार्यालयले निर्माण कम्पनी गल्भालाई ताकेता नगरेको पनि होइन । सडक पूर्वाधारले १ वर्षको अवधिमा चार पटकसम्म गल्भालाई चिठी पठाएर ताकेका गरेको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका कार्यालय प्रमुख सरतकुमार अधिकारीले बताए । तर पनि गल्भाले पुनः निर्माणमा लापरबाही गरिरहेको अधिकारीले बताए ।
गल्भा/सिद्धार्थ दर्शन जेभी नरहरी थपलियाको निर्माण कम्पनी हो । उनले उक्त पुल निर्माण गर्न पेटी ठेकेदार चक्रबहादुर शाहलाई जिम्मा दिएका हुन् । तर शाह भने सम्पर्कविहीन रहेको प्रमुख अधिकारीले बताए ।
‘अहिले चक्रबहादुर शाह सम्पर्कविहीन हुनुहुन्छ । उहाँको फोन त लाग्छ तर फोन उठ्दैन,’ अधिकारीले भने । शाहलाई जिल्ला प्रशासन कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले पनि धेरै पटक फोन गरेको तर नउठेको अधिकारीले बताए ।
समाचार संकलनका लागि कालपृष्ठकर्मीले पनि फोन गर्दा उनको फोन उठेन । यसबाट पुल निर्माणमा ठेकेदारको प्रष्ट अटेरीपन देखिन्छ ।
यसअघि सडक पूर्वाधारले पहिलो चिठी २०७८ वैशाख ९ गते निर्माण कम्पनीलाई चाडो काम सुरु गर्न पठाएको थियो । सम्झौता भएको दुई महिनासम्म पनि काम सुरु नभएपछि काम सुरु गर्न कार्यालयले चिठी पठाएको सडक पूर्वाधार विकास कार्यालयका टेक्निकल अफिसर ओमप्रकास पौडलेले बताए ।
उनले भने, ‘सम्झौता भयो तर दुई महिनासम्म काम नै सुरु भएन । अनि हामीले पहिलो चिठी २०७८ वैशाख ९ गते काम सुरु गर्न निर्माण कम्पनीलाई पठायौं । त्यसपछि काम सुरु त भयो तर वर्षातका कारण फेरि काम रोकियो ।’
सो समयमा निर्माण कम्पनीले भएको पुल भत्काएर काम सुरु गरेको थियो । जसका कारण स्थानीयवासीलाई नेपालगन्ज आउन कि खजुरा आउनु पथ्र्यौ । कि त जलपोखरी भएर आउनु पथ्र्यौ । सो समयमा स्थानीयवासीले विरोध पनि गरेका थिए । उनीहरुले नयाँ पुल बनाएर मात्र पुरानो पुल भत्काउने माग गरेका थिए । तर नयाँ पुलको काम थालनि नगर्दै पुरानो पुल भत्काइयो ।
सो समयपछि पुनः सडक पूर्वाधारले २०७८ कात्तिक २५ गते अर्को चिठी पठायो । ठेकेदारले फेरि काम बन्द गरेपछि सडकले काम सुरु गर्न सचेत गराएको थियो । यो सिलसिला त्यही रोकिएन फेरि २०७८ मंसिर २५ गते तेस्रोपटक सडकले सचेत गराउन चिठी पठाएको थियो ।
प्रमुख अधिकारीका अनुसार चिठी पठाएपछि केही दिन काम गरेजस्तो गर्ने फेरि रोक्ने क्रम भई रहेको थियो । अन्तत तीनपटक चिठी पठाइ सकेपछि सडक पूर्वाधारले निर्माण कम्पनीको बैंक ग्यारेन्टी थुत्न चौथोपटक चिठी पठायो । सडकले २०७८ माघ ९ गते बैंकलाई उक्त निर्माण कम्पनीको बैंक ग्यारेन्टी थुत्न चिठी पठाएको थियो । त्यसपछि माघ २३ गते समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता पत्र निर्माण कम्पनीले दिएको थियो ।
प्रमुख अधिकारी भन्छन्, ‘हामीले चिठी पठाएपछि केही कामदार लगेर काम गरेजस्तो गर्ने । फेरि काम राकिने क्रम भएपछि अन्तिममा बैंक ग्यारेन्टी खोस्न चिठी पठायौं । पछि काम सक्ने प्रतिवद्धता आयो । तर पनि फेरि उस्तै हालत छ ।’
अधिकारीका अनुसार ठेकेदार कम्पनीले छडको मूल्यमा वृद्धि भएकाले सम्झौता रकममा काम गर्न नसक्ने जनाएको छ । तर नियमअनुसार सम्झौता पत्रमा उल्लेख गरिएको रकमबाहेक अन्य रकम थप हुने प्रवधान भने रहेको छैन ।
अधिकारी राम्रोसँग काम गरे डेढ महिनामा काम सम्पन्न हुने बताउँछन् । ‘ठेकेदारले राम्रोसँग काम गर्ने हो भने एक/डेढ महिनाको काम हो,’ उनले भने, ॅप्रमुख काम भनेको जग उठाउने हो । त्यो सबै भई सकेको छ । अब पिल्लरको काम सम्पन्न गरेर ढलान गर्नेकाम हो जुन जगभन्दा सजिलो काम हो ।’
अब ठेकेदार कम्पनीसँगको सम्झौता रद्ध गर्ने प्रक्रिया रहेको अधिकारीले बताए । उनका अनुसार गल्भ/सिद्धार्थसँगको सम्झौता तोडेर नयाँ प्रक्रियामा जानु पर्ने नियम रहेको छ ।