राप्रपाद्वारा कृषि ज्ञान केन्द्रमा तालबन्दी
Monday, June 27th, 2022, 4:12 pm
Kalpristha
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेले जिल्ला कृषि ज्ञान केन्द्र बाँकेमा सोमबार तालाबन्दी गरेको छन् । राप्रपाका नेता तथा कार्यक्रमर्ताले किसानलाई मल, बीउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पुर्याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर कृषि ज्ञान केन्द्रमा केहीबेर तालाबन्दी गरेका हुन् ।
तालाबन्दीपूर्व राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, जिल्ला उपाध्यक्ष विन्दु चर्तीमगर, इन्दिरा शाही, सलाउद्दिन जसगढलगायतका नेता तथा कार्यकर्ताले महेन्द्र पुस्तकालयदेखि कृषि ज्ञान केन्द्रसम्म नाराबाजी गरेका थिए ।
राप्रपाले ‘किसानलाई मलखादको अबिलम्ब व्यवस्था गर’, ‘किसानलाई अबिलम्ब बीउविजनको व्यवस्था गर’, ‘ किसानको बाली नष्ट भएको अबिलम्ब क्षेतिपूर्ति देँ’, ‘महंगी र भ्रष्ट्राचार नियन्त्रण गर’ लेखेको ब्यानरसहित नाराबाजी गरेका राप्रपा जिल्ला उपाध्यक्ष मगरले बताइन् ।
यसअघि आइतबार नकपा एमालेले किसानलाई मल, बीउ उपलब्ध गराउनुपर्ने, गतवर्ष धानबालीमा भएको क्षतिको राहत दिनुपर्नेलगायतका माग राखेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।