बाँकेको तापक्रम हरेक वर्ष ४० डिग्रीभन्दा बढी
Monday, June 27th, 2022, 8:23 pm
Kalpristha
नेपालको सबैभन्दा बढी गर्मी हुने बाँके जिल्लामा हरेक वर्ष तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी हुने एक अध्ययनले देखाएको छ । सोमबार नेपालगन्जमा नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले आयोजना गरेको लु अर्थात तातो हावाको लहर प्रतिकार्य कार्यक्रममा बाँकेको तापक्रम बढ्दै गएको जनाइएको हो ।
रेडक्रसले उक्त कार्यक्रममा सम्बन्धीत सरोकारवाला बीच समन्वय कार्यशाला गर्न आयोजना गरेको थियो । उक्त कार्यक्रममा बाँकेमा पनि सबैभन्दा बढी तापक्रम हुनेमा नेपालगन्ज उप-महानगरपालिकाका ५ वटा वडाहरु रहेका छन् ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर १३, १४, १९, २१ र २२ नम्बर सबै भन्दा बढी गर्मी हुने जनाइएको छ ।
कार्यक्रममा लुको कारण मानिसको स्थास्थ्यमा पर्ने असर कम गर्न आगामी दिनमा गर्न सकिने कार्यहरुको बारेमा सुझाव पनि दिइएको छ ।
नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अनुसन्धानमुलक अध्ययनबाट आएको सुझावको आधारमा गतिविधिहरु निर्धारण गरिनुका साथै आगामी दिनमा उपमहानगरपालिकाको योजनामा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगन्ज उप-महानगरपालिका क्षेत्रभित्रका नेरेसोका उपशाखाहरुबाट सभापति, सचिव एवं सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले कार्यक्रमद्वारा भए गरेका गतिविधिहरुका प्रस्तुती र यस कार्यक्रमका परामर्शकर्ता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।