तत्काल मलको व्यवस्था गर्न जोड
Tuesday, June 28th, 2022, 5:12 pm
Kalpristha
खेतीपातीको समयमा किसानले मल नपाएको भन्दै तत्काल किसानलाई मलको व्यवस्था गर्न जोड दिइएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले खेतीपातीको समयमा किसानहरुले मलखाद नपाउनु ठूलो समस्या भएकाले यसको तत्काल व्यवस्थापन गर्नु पर्ने बताएका छन् ।
मंगलबार पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले गरेको साझा सभामा चौधरीले मलको समस्यालाई जोड दिएका हुन् ।
त्यस्तै चोधरी जिल्लाको समग्र विकास र सवालका लागि समन्वयको भूमिका प्रभावकारी गर्न स्थानीय तहसँगको सम्बन्धलाई अगाडि बताउने बताए । उनले योजना तथा कार्यको अनुगमन गरी सरोकारवाला निकायलाई खबरदारी गर्नेसमेत बताए ।
साथै उनले डुडुवाको विकास योजनाका बारेमा उठेका सवाललाई सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता गर्दै प्रदेश र केन्द्रस्तरबाट पनि ठूला योजना तथा कार्यक्रमका लागि पहल गर्ने बताए ।
कार्यक्रममा डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले स्थानीयले उठाएका समुदायका समस्यालाई समाधान गर्ने प्रतिबद्धता गर्दै जनताका समस्या भएमा प्रत्यक्ष स्थानीय सरकारसमक्ष राख्न अनुरोध गरिन् ।
सभामा डुडुवाका योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी केसी, कृषि शाखा प्रमुख सशीला शर्मा, स्थानीय समुदायका अगुवा भागीरथी चन्द, भवानी बोहरा, गैसस बाँकेका सदस्य सुर्यलाल यादव, हेमा थापा, उदयराज जायसवाल लगायतले स्थानीय सवाल र सरोकारवाला निकायको भूमिकाबारे धारणा राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।