१ महिनामा १ अर्ब बढीको विद्युत् निर्यात
Friday, July 1st, 2022, 1:33 pm
Kalpristha
नेपालले १ महिनामा १ अर्ब बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी ३ सय ६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युत्गृहको ३९ मेगावाट विद्युत् दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ बाट दैनिक रुपमा ३ सय ६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
प्राधिकरणले यस अवधिमा विद्युत् बिक्रीको लागि असार १ गतेदेखि १५ रुपैयाँ औसत दर पाएको छ ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यातको प्रक्षेपण गरिएको छ ।