मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
Friday, July 1st, 2022, 2:05 pm
Kalpristha
दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
बिहीबार बेलुकी पौने ९ बजेतिर घोराही उप-महानगरपालिका-७ बेसाही नजिकै सौडियारतिरबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २२९२२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो भने अन्य २ जना गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उप-महानगरपालिका-१५ निवासी ३५ वर्षीय गंगाबहादुर कवँर र साईकलमा सवार घोराही-७ निवासी १६ वर्षीय रितेश केसी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते कवँर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ट्राफिक प्रहरी प्रमुखले बताए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेमा मोटरसाईकलमा सवार घोराही-७ निवासी ३७ बर्षीया बसन्त चौधरी र साईकलयात्री सोही ठाउँ निवासी १५ बर्षीया विनोद भण्डारी रहेका छन् ।
गम्भीर घाइतेहरुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । ट्राफिक प्रहरीका अनुसार मोटरसाईकल तीव्र गतिका कारण अनियन्त्रित भई साइकलमा ठोक्किन पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए ।