प्रदेश र संघको निर्वाचन एकैचरणमा हुने
Wednesday, July 6th, 2022, 8:03 pm
Kalpristha
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघको निर्वाचन एकैचरणमा गर्ने बताएका छन् । बुधबार भएको निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचन एकैचरणमा गर्ने बताएका हुन् ।
आयोग पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै मंसिर २ गते प्रदेश र संघको निर्वाचन गर्न मिति प्रस्ताव गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले २०७९ साल मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको बताए ।
आयोगले निर्वाचनका लागि मिति घोषणापछि १ सय २० दिनको निर्वाचन अवधि लिने गरेको छ । भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै आयोगलाई धन्यवाद ज्ञापन गरेका छन् ।
त्यसैगरी निर्वाचन आयोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा थियो ।
आयोगले हाल तलव भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धिलगायतका कारण बढी खर्च लाग्ने जनाएको छ ।