शिक्षामा जानकीले प्राथमिकता दिएको छ : अध्यक्ष खाँ
Wednesday, July 6th, 2022, 9:01 pm
Kalpristha
जानकी गाउँपालिक अध्यक्ष छब्बन खाँले पालिकाले शिक्षालाई प्राथमिकता दिएको बताएका छन् । बुधबार वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा आयोजित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले आर्थिक वर्ष २०७९÷०८० का लागि पालिकाले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
उनले भने, ‘पहिलाको जनप्रतिनिधिहरुले शिक्षालाई प्राथमिकता दिएनन् । शिक्षामा अरुभन्दा कम बजेट दिने गरेका थिए । योपटक जानकी गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिँदै ९० लाख बजेट छुट्याएको छ ।’
त्यस्तै खाँले गतवर्ष धानबालीमा भएको नोक्सानीबापद राहतका लागि सरकारसँग माँग गरेको रकम ३८ लाख जिल्ला प्रशासन बाँकेमा आइसकेको बताए । सो रकम छिट्टै जनतासमक्ष पु¥याइने उनले बताए ।
कार्यक्रममा जानकीगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले शिक्षाका लागि पालिकाले कुनै कमी नराख्ने बताए । उनले भने, ‘हामीले माँग बमोजिम संघीय सरकारले ३ करोड रुपैया बिनोजन गरेको र पालिकासँग ३ करोड ९० लाख मौज्दात रकम रहेकोले पालिकाले शिक्षामा कुनै कमी राख्ने छैन ।’
कार्यक्रमको प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितिका सदस्य जुल्फिकार अली मनिहार रहेका थिए ।
सम्मान कार्यक्रममा नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक संध्या शर्माले गर्मी मौसममा विद्यार्थी तथा शिक्षकहरुलाई टिनको छानो भएको कोठामा बस्न समस्या भएको बताइन् ।
सम्मान कार्यक्रममा विशिष्ट अतिथि जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का जिल्ला महासमिति सदस्य लक्ष्मीनारायण शाह, प्रमुख प्रसाशकीय स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, वडा नम्बर ५ का वडा अध्यक्ष टीकानाथ यादव, वडा सदस्य मो. सरीफ खाँ, कमला यादव र गाउँपालिका स्वकीय सचिव सोहराब इद्रीसीलगायतको उपस्थिति रहेको थियो ।