शान्ति टोलका दश बाढीपीडितलाई राहत वितरण
Thursday, July 7th, 2022, 7:19 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २३ असार
शान्ति टोलका दश जना बाढीपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको विहिवार बसेको बैठकले बाढीपीडितलाई यथासक्य राहत वितरण गर्ने निर्णय गरेपछि सदररमुकाम दुनैमा मंगलवार आएको बाढीले घरवास गुमाएका दश जना पीडितलाई जिल्ला समन्वयको प्राङ्गणमा राहत वितरण गरिएको हो ।
ठूलीभेरीनगरपालिका ३ स्थित सदरमुकाम दुनैको शान्ति टोलमा आएको बाढीले १० जनालाई पुर्ण र १४ जनालाई आंसिक रुपमा क्षेती पुर्याएको थियो ।
जिल्ला समन्वय समितिको प्राङ्गणमा जम्मा भएका बाढीपीडित नन्दाकुमारी विक कमला विक डिलकुमारी घर्ती पिउली विक मति मिजार झुमा विक रणबहादुर शाही डम्बर थापा पन्च बुढा र पदम रोकायालाई प्रतिपीडित २५ केजी चामल दुई पोका तेल ५ केजी दाल दुई केजी चिनी चिया र नून वितरण गरिएको हो ।
बाढीपीडित धेरै भएपनि सबैभन्दा बढी पीडितको छनौट गरि राहत वितरण गरिएको जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले जानकारी दिनु भयो ।
बाढीपीडितलाई जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द बहादुर बुढा ठूलीभेरीनगरपालिका प्रमुख सुवर्णकुमार बुढाले संयुक्त रुपमा राहत वितरण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले बाढी पीडितको उद्दार र ब्यवस्थापनको लागि कुनै कसुर बाँकी नराख्ने गरी पहल भइरहेको बताउनु भयो ।राहत वितरण कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख वडाअध्यक्ष र नागरिक समाजको उपस्थिती रहेको थियो ।