संगिन शर्मा
कोहलपुर- माओवादी केन्द्र कोहलपुर नगर समितिले मध्यपश्चिम क्रिकेट क्लबका खेलाडीहरुलाई सम्मान गरेको छ ।
शनिबार विशेष कार्यक्रमको आयोजना गरी केन्द्रले मध्यपश्चिमका खेलाडी, प्रशिक्षक तथा टिम ब्यवस्थापकलाई कदर पत्रसहित सम्मान गरेको हो । हालै राजधानिमा सम्पन्न नेक्सस यू–१६ क्रिकेट प्रतियोगितामा उप–विजेता हुन सफल क्लबलाई आप्mनै गृह जिल्ला बाँकेमा पहिलो पटक स्वागत तथा सम्मान गरिएको हो ।
खेलाडीहरुको मनोबल उच्च राख्दै खेलप्रतिको मोहलाई बढावा दिने उद्धेश्यले सम्मान गरिएको माओवादी केन्द्र कोहलपुरले जनाएको छ । क्षेत्रकै प्रतिनिधीत्व गर्दै केन्द्रिय प्रतियोगितामा सहभागी भएको क्लबले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा फाईनलसम्मको यात्रा तय गरेको थियो । मोफसलमा समेत उत्कृष्ट क्रिकेट खेलाडीहरु उत्पादनमा क्रिकेट क्लबले महत्वपूर्ण भुमिका खेल्दै आएको भन्दै थप हौसलाका लागि क्लबका खेलाडीहरुलाई सम्मान गरिएको माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष तेजप्रसाद चापागाँईले बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरका मेयर पदका उम्मेदवार तथा प्रमुख अतिथि नरेन्द्र न्यौपानेले कोहलपुरमा रहेको क्रिकेट मैदानलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार बिकास गर्नका लागि अबको नेतृत्व सक्षम हुनुपर्ने बताएका थिए । उनले नयाँ सोच र नेतृत्वले मात्र युवामैत्री योजनाहरु लागु गराउन सक्ने भएकाले आफुले मेयर पदका लागि उम्मेदवारी दिएको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको धारणा समेत ब्यक्त गरेका थिए । अखिल क्रान्तिकारी केन्द्रिय समितिका अध्यक्ष समेत रहेका न्यौपानेले खेलाडीहरुलाई मात्र बिदेशी भुमिमा आप्mनो राष्ट्रिय गान गाउने अधिकार हुने भएकाले राष्ट्रियताका सवालमा खेलाडीहरुको भुमिका महत्वपूर्ण हुने जिकिर गर्दै उनले मोफसलबाटै राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादनका लागि प्रत्यक क्षेत्रमा खेलमैदान अपरिहार्य रहेको बताए ।
कोहलपुरस्थित क्रिकेट मैदान अन्तराष्ट्रिय स्तरमा निर्माण गर्ने गरी वर्षौ पहिले घोषणा गरिएको भएपनि हालसम्म त्यसको निर्माणका लागि राज्य पक्ष उदासिन भएको भन्दै न्यौपानेले क्रिकेट मैदान निर्माणका लागि जुनसुकै कदम उठाउन आफु तयार गरेको उद्घोष समेत गरेका छन । वर्तमान सरकारका खेलकुद मन्त्री स्वयंले समेत मैदान निर्माणका लागि चासो दिदै बजेट निकासा गरिसकेको न्यौपानेले जानकारी दिए ।
मैदान निर्माणका लागि अघिल्ला वर्षहरुमा समेत बजेट निकासा हुँदै आएको भएपनि कार्य प्रारम्भ नहुँदा बजेट फ्रिज भएर जाने गरेको थियो । प्रत्येक वर्ष आउने बजेटलाई सहि सदुपयोग गर्न नसकेकै कारण मैदान निर्मण कार्य रोकिएको उल्लेख गर्दै राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान लेखबहादुर क्षेत्रीले यस आवको बजेटको सहि सदुपयोगका लागि पहल कदमी लिन सबैसँग आग्रह गरेका थिए ।