विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलको कीर्तिमान ‘एभरेष्ट इन’लाई
Tuesday, July 12th, 2022, 7:43 pm
Kalpristha
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको हो ।
यो होटल ५ हजार १ सय ८० मिटर उचाईमा अवस्थित छ । ‘वल्र्ड बुक्स रेकड्र्स’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ ।
सोमबार राजधानीमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई ‘वल्र्ड बुक्स रकड्र्स’ को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको होटलले यस्तो रेकर्ड राख्नु समग्र नेपालीहरुका लागि नै खुशी र गौरवको कुरा भएको बताए । आउँदा दिनमा नेपाललाई चिनाउने अर्काे एउटा आधारका रुपमा होटल रहने उनले विश्वास व्यक्त गरे ।
मन्त्री श्रेष्ठले भने, ‘नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न यो खालको होटलले थप योगदान पुर्याउने विश्वास लिएको छु ।’
उनले कोरोना महामारीका कारण अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा पर्यटन क्षेत्र धेरै प्रभावित बनेको बताउँदै यसलाई कसरी पुनस्र्थापित गर्ने भन्नेमा मन्त्रालय अहिले छलफलमा रहेको बताए । केही दिन भित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनस्र्थापित गर्ने एजेन्डाहरु घोषणा गर्ने समेत मन्त्री श्रेष्ठले बताए ।
‘वल्र्ड बुक्स रेकड्र्स’का नेपाल प्रतिनिधि कटुवालले यस रेकर्डले विश्वमा नेपालको नाम नौलो तरिकाले पुगेको बताउँदै होटलका प्रबन्ध निर्देशक लगायतलाई बधाई दिए । सन २००४ देखि होटल संचालनमा ल्याएको प्रबन्ध निर्देशक शेर्पाले कार्यक्रममा जानकारी गराए ।
उक्त स्थानमा होटल बनाउनु एकदमै चुनौती रहेपनि निकै दुखका साथ होटल बनाएको उनले स्मरण गरे । ‘त्यहाँ सेतोमा हिँउ र कालोमा ढुंगाबाहेक केहीपनि देखिँदैन् । त्यहाँ केही उब्जाउ पनि हुँदैन् । निकै महंगो शुल्कमा सामान लगेर, निकै दुःख गरेर होटल बनाएको हुँ’ शेर्पाले भने, ‘आज यो एउटा कार्यक्रमले गर्दा मैले आफ्नो जीवनमा केही गरेछु भनेर साह्रै खुशी लागेको छ ।’
साभार–अनलाइन खबर