सर्वसाधारणको लागि तीन नयाँ कम्पनीको आइपिओ आउँदै
Tuesday, July 12th, 2022, 7:47 pm
Kalpristha
नेपाल धितोपत्र बोर्डले थप तीन नयाँ कम्पनीलाई आइपिओ जारी गर्ने अनुमति दिएको छ । बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपिओ जारी गर्न स्वीकृति दिएको हो ।
धितोपत्र बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेडलाई गत असार २३ गते, र धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई गत असार २४ गते आइपिओ निष्काशन गर्न स्वीकृत दिएको हो ।
सिक्लेस हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बैंक अफ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको आइपिओ जारी गर्ने भएको हो ।
धौलागिरी लघुवित्तले भने सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको हो । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
अभियान लघुवित्तले पनि १०० रुपैयाँ अंकित मूल्यकै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ । अभियान लघुवित्तले पनि सर्वसाधारणको लागि मात्रै आइपिओ जारी गर्ने भएको हो ।
साभार–सेतोपाटी