नेजा साधारण सभाको तयारी पुरा, सामुदायीक पत्रकारिता पुरस्कार तीन जनालाई
Thursday, May 4th, 2017, 4:23 am
amit
टेक्सास (अमेरीका)- नेपाल अमेरीका पत्रकार संघ (नेजा)को ११ औं साधारण सभाको तयारी पुरा भएको छ ।
आउंदो शनिबार र आइतवार अर्थात यही ६ र ७ तारिखमा अमेरीकाको राजधानी वासिंटन डिसीमा हुन लागेको साधारण सभाको तयारी पुरा भएको नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर हुन लागेको साधारण सभामा सहभागी हुन नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर अमेरीका आइसकेका छन् । साधारण सभाको उद्घाटन सत्रमा अमेरीकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्की लगायत नेपाली संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहने साधारण सभा मुल आयोजक समितीका संयोजक तथा नेजाका उपाध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।
यसैबीच नेपाल अमेरीका पत्रकार संघ (नेजा)ले यो वर्ष देखी शुरु गरेको सामुदायीक पत्रकारिता पुरस्कार तीन जनाले पाउने भएका छन् । पत्रकार राजेश मिश्रको संयोजकत्वको छनौट समितीले शिवप्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई पुरस्कारको लागी छनौट गरेको हो । १ हजार १ सय १ डलर पुरस्कार राशीको सो पुरस्कार साधारण सभा उद्घाटनका दिन प्रदान गरिने नेजाले जनाएको छ ।
यस्तै साधारण सभाको उद्घाटन सत्रमा गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका आकांक्षीहरु संगको वहस पनि संचालन गरिने भएको छ । नेजा सदस्य वाल जोशीको संयोजकत्वमा बहस गरिने बताइएको छ ।