सर्वसाधारणलाई निःशुल्क बिरुवा वितरण
Tuesday, July 12th, 2022, 7:58 pm
Kalpristha
डिभिजन वन कार्यालय बाँकेले सोमबारबाट निःशुल्क विरुवा वितरणको काम सुरु गरेको छ । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालको प्रमुख आथित्यतामा सर्बसाधारणलाई बिरुवा वितरण गरिएको हो ।
सो क्रममा सागवान, मसाला, बकाइनो, निम, जामुन, सितलचिनी, इपिलइपिल लगायत प्रजातीका विरुवा वितरण गरिएको डिभिजन वन कार्यालय बाँकेका रमेश बुढाथोकीले जानकारी दिए ।
सर्बसाधारणलाई १ लाख ४५ हजार विरुवा वितरण गर्ने कार्यालयको योजना छ । सो क्रममा डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्ण, वन कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी बाँकेको डुडुवा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको जयेन्दु बाल सुधार गृहमा वृक्षारोपण गरिएको छ । द आर्ट अफ लिभिङ नेपालगन्जले आयोजना गरेको नव चेतना शिविरको समापनको अवसरमा मंगलबार सुधार गृहमा वृक्षारोपण गरिएको हो ।
जिल्ला न्यायाधीश षडानन्द तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपाने, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डे, आर्ट अफ लिभिङ नेपालगन्जका संयोजक संजय थापा, अधिवक्ता वसन्त गौतम, हरित अभियन्ता हेमन्तराज काफ्ले, बाल सुधार गृहका जग्गादाता जय किसन सिंहलगायतले वृक्षारोपण गरेका थिए ।
डिभिजन वन कार्यालय बाँके र हरित अभियन्ता काफ्लेले सितल चिनी, जामुनलगायतका विभिन्न थरीका ४५ वटा विरुवा सहयोग गरेका थिए ।
यसैबीच बाल सुधार केन्द्रको पुस्तकालयलाई पुस्तक सहयोग गरिएको छ । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले सुधार गृहकी इन्चार्ज विमला काउचा मगरलाई १३ वटा पुस्तक हस्तान्तरण गरे ।
सकारात्मक सोच, जीउने कला, अध्यात्म, योग, सीपमूलक तालिम, कृषि, लोकसेवा आयोग तयारी, कम्प्युटर शिक्षालगायतका विषयका पुस्तक रहेका छन् ।