प्रतिदिन बाँकेमा लागूऔषधकर्ता पक्राउ हुँदै
Tuesday, July 12th, 2022, 8:17 pm
Kalpristha
बाँकेमा केही दिन यता लागूऔषधकर्ता पक्राउ हुने क्रम बढ्दै गएको छ । मंगलबार पनि सशस्त्र प्रहरीले नेपालगन्जको सीमा नाकाबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको जमुनाह बिओपीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक राम बहादुर शाहीको कमान्डको टोलीले दिउँसो ४ बजे भारतको रुपईडिहाबाट नेपालगन्ज उप–महानगरपालिका–१५ जमुनाह गाउँ हुँदै नेपालगन्ज आउँदै गरेका २ जना भारतीय नागिरकसहित १ जना नेपाली नागरिकलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ पर्नेमा भारतको बाबागन्जका २२ वर्षीय दुबद कवाडीया, सोही स्थानकै २८ वर्षीय सलमान खान र बैजनाथ गाउँपालिका–४ नौलापुरका २६ वर्षीय कृष्ण मोहन थारु रहेका छन् । उनीहरुबाट प्रहरीले १ ग्राम ब्राउनसुगर, ब्राउनसुगर सेवन गर्नका लागि बेटारिएका भारतीय रुपैयाँ र ३ थान मोबाइल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि कोहलपुर प्रहरीले कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रबाट करिब साढे २ ग्राम ब्राउन सुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर–८ पिपिरी सितलनगरकी खगीसरा सुनार र कोहलपुर नगरपालिका वडा नम्बर–१ कौशिलानगरका जीवन लामिछाने रहेका छन् ।
प्रहरीले लामिछानेलाई आइतबार र सुनारलाई सोमबार साँझ ४ बजे नियन्त्रणमा लिएको हो । उनीहरुले ९ वटा हरियो प्लाष्टिकको पुडिया बनाई राखेका थिए ।
सोही दिन नेपालगन्ज उप–महानगरपालिका–१५ जमुनाहबाट १३ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित रोल्पा माडी गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका ती किशोरलाई उक्त पदार्थसहित नियन्त्रणमा लिइएको हो ।
असार २० गते पनि बाँके प्रहरीले ठूलो परिमाणमा लागूऔषध नियन्त्रण लिएको थियो । बाँकेको चिसापानीबाटे लागूऔषध अफिमसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका वडा नम्बर–३ बस्ने २५ वर्षीय गोपाल रोकाय र लेखराज विष्ट रहेका छन् । प्रहरीले उनीहरुबाट ३ केजी ८ सय ग्राम लागुऔषध अफिम बरामद गरेको थियो ।