खेलकुदमा महिला अभिरुची बढाउन अभिवृद्धि कार्यक्रम सुरु
Tuesday, July 12th, 2022, 8:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ असार
राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम नेपालगन्जमा सुरु भएको छ । तिन दिने तालिमको मंगलबार नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बाँके जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष सन्दिप जंग शाहले उद्घाटन गरे ।
नेपालगन्जमा सुरु भएको अभिवृद्धि कार्यक्रममा बाँके जिल्लाका विभिन्न विद्यालयका १ सय ५० जना किशोरीहरुको सहभागिता रहेको छ । खेलकुदमा महिलाहरुको अभिरुची बढाउँदै आत्मरक्षाका सीप सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको स्थानीय व्यवस्थापक बाँके जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर विष्टले महिलाहरुले आत्मरक्षाको लागि यस्ता तालिम लिन जरुरी रहेको बताए । उनले भने, ‘खेलकुदको क्षेत्रमा महिलालाई अगाडी बढाउन जरुरी छ । यस तालिमले सहभागि बहिनीहरुको जीवनमा महत्वपुर्ण परिवर्तन गर्ने विश्वास लिएको छु । साथैं यसले अन्य किशोरीलाई पनि खेलकुदमा प्रोत्साहन गर्नेछ ।’
आगामी दिनमा बाँके जिल्ला खेलकुद विकास समितिसँग मिलेर महिलाहरुलाई लक्षित गरेर खेलकुदका अन्य कार्यक्रम गर्ने समेत मेयर विष्टले प्रतिवद्धता व्यक्त गरे ।
खजुरा गाउँपालिका अध्यक्ष मन्जु मल्लले खेलकुदमा महिलाहरुको सहभागिता ज्यादै कम भएकोले यस्ता तालिम निकै महत्वपुर्ण भएको बताइन । उनले भनिन,‘म प्रया जाने सबै कार्यक्रममा महिलाको सहभागिता निकै कम हुन्छ । तर आज त्यो देखिन । यहाँ महिलाहरुलाई मात्र लक्षित गरेर यो तालिम गरिएको रहेछ । यसले पक्कै पनि महिलाहरुको आत्मविश्वास बढाउँदैं खेलकुदमा लाग्न प्रेरणा दिनेछ ।’
कार्यक्रममा मेयर विष्ट र उपाध्यक्ष मल्लले नवनियुक्त बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहलाई सम्मान समेत गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष शाहले खेलकुदक क्षेत्रमा थुप्रै कमजोर रहेको बताउँदैं त्यसलाई सबैले सहकार्य गरेर व्यवस्थापन गर्नु पर्ने बताए । उनले भने, ‘म भर्खरैं नियुक्त पाएर यो जिम्मेवारीमा आएको छु । खेलकुदका समस्या र कमजोरीका बारेमा धेरै कुरा थाहा छ । म आफै पनि खेलाडी हुँ । जिल्लाको खेलकुद स्तरलाई बढाउन व्यवस्थापनलाई सुधार गर्न जरुरी छ ।’
अध्यक्ष शाहले तालिमले महिला खेलाडीलाई अगाडी बढनको लागि केहि नयाँ सीप र ज्ञान प्रदान गर्ने भएकोले तालिम महत्वपुर्ण रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना र बाँके जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा चल्ने तालिमका सहभागिलाई कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स, फुटबल लगायतको खेलहरुको प्राविधिक र सैद्धान्तिक ज्ञानको बारेमा जानकारी गराउने बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख श्रेष्ठले बताए ।
तालिमका सहभागिलाई कृष्ण बहादुर चौधरीले कराते, चन्द्र प्रकाश श्रेष्ठले तेक्वान्दो, लाल बहादुर मल्लले भलिबल, छबिलाल थापा मगरले एथलेटिक्स र रबिन्द्र कुमार श्रेष्ठले फुटबलको बारेमा प्रशिक्षण दिनेछन् ।