खजुराले बेरुजु कम गर्न ध्यान नदिएको गुनासो
Tuesday, July 12th, 2022, 9:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २८ असार
खजुरा गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिताको बारेमा सार्वजनिक सुुनुवाई गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा भएको कार्यक्रममा खजुरा गाउँपालिकाको १ देखी ८ नम्बर वडामा संचालन भएका विकास निर्माण काम, योजना र समस्याका बारेमा स्थानीयले प्रश्न गर्दै सुझाव पनि दिएका थिए ।
खजुरा गाउँपालिकाको भौतिक निर्माण भएका कमजोरी, शिक्षा क्षेत्रमा देखिएका कमजोरी, आर्थिक बेरुजु लगायतका विषयमा खजुरा गाउँपालिकाका स्थानीयले प्रश्न गरेका थिए ।
पछिल्लो समय बाँकेमा धेरै बेरुजु हुने पालिकाको रुपमा खजुरा रहेको छ । पछिल्लो दुइ वर्ष देखी बेरुजु रकममा थप बृद्धि हुँदै गैरहेको अवस्थामा पनि पालिकाले त्यसलाई फस्यौट गर्न ध्यान नदिएको स्थानीय गुनासो गरेका थिए ।
बेरुजु कारण पालिकामा आर्थिक अनियमितता बढदै गएको हो भन्ने प्रश्नको जवाफ प्रमुख प्रशासकिय अधिृकत बम बहादुर केसीले दिएका थिए । पालिकाले छिटै बेरुजु रकमको बारेमा सार्वजनिक गर्ने र पालिकाले खर्च गरेको रकमको बारेमा स्पष्ट रुपमा सार्वजनिक गर्ने केसीले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाले गरेको खर्च गरेको बजेट, आर्थिक प्रतिवेदन कार्यक्रममा उपलब्ध गराउन नसकेको कारण केहि बेर सार्वजनिक सुनुवाई रोक्नु पर्ने केहि स्थानीयले दबाब दिएका थिए । तर पालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखा प्रमुखले केहि दिनमा सबै विवरण बताउन सकिने बताएका थिए ।
यसैगरी सार्वजनिक सुनाई कार्यक्रममा पालिकाले कृषकलाई सहयोग गरेको कृषि उपकरण, शिक्षा शाखाले शिक्षकहरुलाई वितरण गरेको ल्यापटपका बारेमा स्थानीय बासिन्दाहरुले प्रश्न गरेका थिए ।
स्थानीयहरुले गरेका प्रश्नको जवाफ खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, वडा नम्बर १ देखी ८ सम्म अध्यक्ष लगायतले उत्तर दिएका थिए ।
गाउँपालिका अध्यक्ष विकले कार्यक्रममा आएका केहि सुझावहरुलाई यसै वर्ष देखी लागु गर्ने गरी तयारी गर्ने प्रतिवद्धता जनाए । उपाध्यक्ष मन्जु मल्लले विकास निर्माणमा कामको अनुगमनलाई बढाउँदै पालिकाले खर्च गरेको बजेट सहि ठाउँमा प्रयोग गर्ने बताइन ।