ग्रामीणद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
Thursday, July 14th, 2022, 5:27 pm
Kalpristha
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० मा रहेको मानव सेवा आश्रम शाखा कार्यालय नेपालगन्जलाई खाद्यान्न सहयोग गरेको छ । ग्रामीण विकासले मानव सेवा आश्रममा कार्यक्रमको आयोजना गरेर खाद्य सामग्री तथा औषधि हस्तान्तरण गरेको हो ।
बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले खाद्यान्न तथा औषधि आश्रमका शाखा संयोजक कुलविन सापकोटालाई हस्तान्तरण गरे ।
ग्रामीण विकासले आश्रमलाई चामल, पिठो, औषधि लगायतका ३८ हजार रुपैयाँको सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख विष्टले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण विकासले मानव सेवा आश्रमलाई गरेको सहयोग सराहनीय रहेको बताए । उनले सरकारले गर्नु पर्ने काम मानव सेवा आश्रमले गरेको बताउँदै, यस अभियानमा सबैलाई हालेमालो गर्न अनुरोध गरे ।
विष्टले मानव सेवा आश्रमको काममा नेपालगन्ज उप-महानगरपालिकाले पनि सहकार्य गर्दै जाने बताए ।
कार्यक्रममा उपस्थित नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० का वडा सदस्य दिपेन्द्रराज श्रेष्ठले वडाबाट आफूले पाउने सेवासुविधा मानव सेवा आश्रममा सहयोग गर्ने र वडा तहदेखि नै मानव सेवा आश्रमका लागि हालेमालो अभियान सुचारु गर्ने योजना रहेको बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लुम्बिनी प्रदेशका प्रवन्धक दिपकप्रसाद पाण्डेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गग प्रत्येक वर्ष सहयोग कार्यक्रम संचालन गर्दै आई रहेको बताए । उनले यस्ता कार्यक्रम ग्रामीण विकास लघुवित्तको नियमित कार्यक्रम रहेको बताए ।
मानव सेवा आश्रम २०६९ भदौदेखि हेटौडाबाट सुरु भएको थियो । हाल देशभरका १९ जिल्लामा २५ वटा शाखा मानव सेवा आश्रमको रहेको छ ।
नेपालगन्जमा भने २०७९ बैशाखबाट मानव सेवा आश्रमको सुभारम्भ भएको थियो । हाल नेपालगन्ज शाखामा २४ जना रहेका छन् ।