ध्यानाकर्षण गराउन विद्युत् कार्यालयमा जनप्रतिनिधि
Thursday, July 14th, 2022, 7:19 pm
Kalpristha
बिहीबार दाङको तुलसीपुरस्थित विद्युत् वितरण कार्यालयमा जनप्रतिनिधिसहित स्थानीय पुगेका छन् । विद्युत सेवाबारे ब्यापक जनगुनासो आएपछि पूर्व सिँचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले विद्युत कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
सर्वसाधारण सेवाग्राहीसहित पश्चिम दाङका जनप्रतिनिधिका साथ तुलसीपुरस्थित विद्युत् वितरण कार्यालयमा पुगेका गिरीले समस्या समाधानका लागि गम्भीरता देखाउन ध्यानाकर्षण गराएका हुन् ।
गिरी सहितको टोलीले बिजुलीका मिटर बक्स जोड्न कर्मचारीले घुस मागेको, पोल पुगे पनि बत्ती विस्तार नभएको, मिटर रिडिङ गर्न कर्मचारी नआएको र कम भोल्टेजको बिजुली प्रवाह भएको लगायत समस्या सुनाएका थिए ।
कार्यालय प्रमुख ज्ञानप्रसाद फर्सालले कर्मचारीका केही कमजोरी भए सुधार्ने र आफूहरूलाई अहिले बजेटको पनि समस्या भएको जवाफ दिएका थिए ।
केन्द्रीय सदस्य गिरीसँगै दंगीशरण गाउँपालिकाका अध्यक्ष शभ्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का सभापति घनश्याम ढकाल, ३ (ख) का सभापति खिमबहादुर वली, तुलसीपुर उप–महानगरपालिकाका सभापति सुरेश हमाल, महाधिवेशन प्रतिनिधिहरु बिमल रिजाल, डा. नहकुल केसी, कांग्रेस दाङका सदस्य रमेश मल्ल, दंगीशरण–६ का वडाध्यक्ष रोशनजंग शाह, बबई कांग्रेसका सभापति प्रकाश बस्नेतसहितका नेता कार्यकर्ता र सर्वसाधारण सेवाग्राही समेत गएका थिए ।