राज्यलाई टेरदैनन् ठेकेदार कम्पनीहरु
Thursday, July 14th, 2022, 7:27 pm
Kalpristha
बाँकेको नेपालगन्जस्थित परसपुर–गौघाट रोडअन्तर्गत खजुरा गाउँपालिका–२, सी गाउँमा निर्माणाधीन पुलको सम्झौता सकिँदासम्म ४० प्रतिशतमात्र काम सम्पन्न भएको छ । असार २५ गतेसम्म सम्झौता अवधि रहेको उक्त पुलका कारण खजुरा गाउँपालिका वडा नम्बर १ र २ का वडावासीले सास्ती पाउने पक्का रहेको देखिन्छ ।
उक्त पुल निर्माणमा चरम लापरबाही भएको प्रष्ट हुन्छ । वैकल्पिक पुल निर्माण नगरी उक्त पुल निर्माण थालिएको थियो । निकासा नहुँने भन्दै भएको पुराना पुल पनि भत्काएर नयाँ पुल निर्माण गरिएको स्थानीय बताउँछन् ।
प्रदेश सरकारको बजेटमा निर्माण भई रहेको उक्त पुल गत २०७७ फागुन १९ गते सडक पूर्वाधार विकास कार्यालय, नेपालगन्जसँग गल्भा÷सिद्धार्थ दर्शन जेभिले २०७९ असार २५ गतेसम्म निर्माण समपन्न गर्नेगरी सम्झौता गरेको थियो । तर उक्त सम्झौता अनुसार गल्भा÷सिद्धार्थले काम गरेको देखिएको छैन । उक्त पुलको लागत ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँ रहेको छ । जसमा २० प्रतिशत रकम निर्माण कम्पनीले लगिसकेको छ ।
…..
सोत सडक पूर्वाधार कार्यालयले निर्माण कम्पनी गल्भालाई ताकेता नगरेको पनि होइन । सडक पूर्वाधारले १ वर्षको अवधिमा चार पटकसम्म गल्भालाई चिठी पठाएर ताकेता गरेको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका कार्यालय प्रमुख सरतकुमार अधिकारीले बताए ।
सडकले २०७८ माघ ९ गते बैंकलाई उक्त निर्माण कम्पनीको बैंक ग्यारेन्टी थुत्न चिठी पठाएको थियो । त्यसपछि माघ २३ गते समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता पत्र निर्माण कम्पनीले दिएको थियो ।
त्यस्तै समयमै काम गरेको भए घोराहीको सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैंकदेखि सहिद गेटसम्म नालासहित सडक पिच गर्ने काम असारअघि सकिनुपर्ने हो । तर नालासहित सडक कालोपत्रे गर्ने जिम्मा पाएको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले चरम लापरबाही नै देखायो ।
१ करोड १५ लाख ३४ हजार ९ सय २४ रुपैयाँमा यही असार मसान्तभित्र सक्ने गरी २०७७ माघ ८ गते सम्झौता गरिए पनि अहिलेसम्म नाला निर्माणको कामसमेत सकिएको छैन । समयमै काम गर्नका लागि ठेकेदारलाई कार्यालय बोलाएर सचेत गराउनका साथै पत्र काटेर उपमहानगरपालिकाले पटक–पटक ताकेता गरे पनि ठेकेदारले काम गरेको जस्तो बहाना गर्ने तर काम भने नगर्ने प्रवृत्तिका कारण सर्वसाधारण जनताले दुःख पाएका छन् ।
त्यसैगरी घोराही उपमहानगरपालिका–४ मा १५ शैयाको हस्पिटल भवन निर्माण गर्न २०७८ असार २८ गते राजेन्द्र निर्माण सेवाले सम्झौता गरे पनि अझै काम सुरु हुन सकेको छैन । संघीय सरकारको १० करोड ६६ लाख ४ हजार ९ सय १ रुपैयाँमा २०७९ असार मसान्तभित्र हस्पिटल बनाउने सम्झौता भएको थियो । त्यही अनुसार उक्त अस्पतालको लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्याससमेत गरेका थिए । तर उक्त अस्पतालको शिलन्यासबाहेक अरु काम नै हुन सकेको छैन् ।
अर्काे उदाहरण हो, घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्न पुष्पाञ्जलि÷पिएस जेभीले २०७८ फागुन ४ गते २ करोड ३१ लाख ५५ हजार ३ सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार काम गरेको भए अहिले उक्त सडक पिच भएको हुनुपर्ने भए पनि ठेकेदारको चरम लापरबाहीका कारण अहिलेसम्म ग्राभेल गर्ने काम मात्रै गरेको छ । पिचको काम यस आर्थिक बर्षमा सक्ने कुनै पनि छाँटकाँट छैन ।
यी उदाहरणमात्रै हुन् ।
….
ठेकेदारको चरण लापरबाहीका कारण घोराहीमा एक दर्जन विकास निर्माणका आयोजनाहरु अघि बढ्न सकेका छैनन् । सहरी विकास तथा पूर्वाधार निर्माण शीर्षकमा पालिकाले छुट्याएको बजेटबाट बजार क्षेत्रमा नाला, सडक कालोपत्रेदेखि ग्रामीण क्षेत्रका सडक कालोपत्रे गर्नका लागि सम्झौता अनुसार समयमा काम नगर्दा अलपत्रजस्तै छन् ।
त्यीमध्येका योजनाहरु हुन, वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले ठेक्का लिएको घोराही–८ सौरी थारुगाउँ बाटो पिच निरन्तरता तथा वडा नंं १० को पुरानो वडा कार्यालय हुँदै नारायणपुर थारुगाउँ हुँदै बनगाउँ जोड्ने बाटो निरन्तरता, मानबहादुर मिलदेखि शंकर गौतमको घरसम्मको अधुरो सडक पिच र दक्षिण पानीटंकी चोकसम्म सडक पिच, घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्ने गरी सम्झौता गरेको पुष्पाञ्जलि÷पिएस जेभी, खिरटियादेखि ६ नं. वडा कार्यालयसम्म सडक पिच गर्न बराहक्षेत्र हरितारा कन्स्ट्रक्सन जेभी, घोराही–१७ लख्वारे कुलोदेखि धर्नासम्म सडक बिस्तार तथा थारु कल्याणकारिणी भवनदेखि गैरागाउँ चोकसम्म पिच गर्नका लागि सोहन आभा जेभीरहेका छन् ।
त्यसैगरी वडा नं. ९ को खैराकोठरी सडक पिच गर्न रोयल बिल्डर्स प्रालि, घोराही वडा नंं. १० मा स्वास्थ्य संस्था भवन निर्माणका लागि रोयल बिल्डर्स प्रालि, घोराही–७ कनरियादेखि वडा नं. ५ को दलजीतपुरसम्म, घोराही–१७ को भैसाही चोकदेखि गैरागाउँ हुँदै सर्रा जोड्ने सडक र कटुवा खोला शंखेपीपलदेखि वडा नं.१८ को वडा कार्यालय हुँदै अम्बिकेश्वरी मन्दिर जाने सडक निर्माणसँगै पिच गर्नका लागि आरडी÷हाम्रो जेभीले सम्झौता अनुसार निर्माणको काम नगर्दा काम अघि बढ्न सकेका छैनन् ।
घोराही उप–महानगरपालिकाले समयमै काम गराउनका लागि पटक–पटक ताकेता गरेपनि ठेकेदार सम्पर्कमा नआएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीले ठेक्का लगाइएका ९ वटा योजनाहरु असारमा सक्नुपर्ने भए पनि अहिलेसम्म कतिपयको कामै सुरु हुन नसकेको बताए ।
अर्काेतिर पालिकाको अपेक्षाअनुसार प्रगति समेत देखिन सकेको छैन । सडक निर्माणका लागि नाला अलपत्र बनाउनेदेखि सडकभरी गिट्टी फिजाउँदा आवागमनमा समेत असर पुगेको स्थानीयको गुनासो छ ।