खजुरामा विश्व विद्यालय स्थापनाको काम सुरु हुँदैं
Thursday, July 14th, 2022, 8:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ असार
खजुरामा प्रदेश विश्व विद्यालय स्थापना गर्ने योजनालाई कार्यान्वयनका लागि पहल सुरु भएको छ । बाँकेको खजुरा गाउँपालिकामा स्थापनाका लागि प्रस्तावित योजनालाई सुरु गर्ने उद्देश्य सहित बिहिबार लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ८ अध्यक्ष फिरोज खाँन, ५ नम्बर वडा अध्यक्ष गरिबे शेख सहित टोलीको स्थलगत निरीक्षण गरेको थियो ।
विश्व विद्यालय स्थापनाका लागि खजुरा गाउँपालिकाले वडा नम्बर ८ को रनियापुर, नयाँ वस्ती र चमकदारपुरलाई समेटर करिब १ सय विगाहा जमिन गाउँपालिकाले छुटयाएको छ ।
विश्व विद्यालय स्थापना गर्ने योजना अगाडी बढाउनका लागि तत्कालको लागि कार्यालय प्रयोजनका रुपमा जनक शिक्षा सामाग्रीको भवनलाई निरीक्षण गरेर उपलब्ध गराउने निर्णय भएको खजुरा गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले तत्कालको लागि जनक शिक्षा सामाग्रीको भवनमा आवश्यक पर्ने अस्थायी पुर्वाधार निर्माणमा सहयोग गरेर काम अगाडी बढाउने तयारी भएको अध्यक्ष विकले बताए ।
पुस्तक छपाईको निम्ति जनक शिक्षा सामग्रीले उक्त भवन निर्माण गरेपनि त्यसको उचित प्रयोग हुन सकेको छैन । त्यही भवनलाई अहिले तत्कालको लागि विश्व विद्यालयको काम गर्ने गर्ने कार्यालयको रुपमा प्रयोग गरिने तयारी भएको उपाध्यक्ष मन्जु मल्लले बताइन ।
प्रदेश विश्वविद्यालय लुम्बिनी प्रदेशको महत्वकाक्षी योजनाका रुपमा रहेको छ । जसले प्रदेशमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ । लुम्बिनी प्रदेश सरकारको निति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष २०७९–८० मा प्रदेश विश्व विद्यालयको काम सुरु गर्ने घोषणा भएको छ । जस अनुरुप अब छिटै काम सुरु हुने खजुरा गाउँपालिका अध्यक्ष विकले कालपृष्ठ दैनिकलाई बताए ।