अमेरीकामा ग्राहकको चक्कु प्रहारबाट ग्रोसरी स्टोरमा काम गर्ने भारतीयको मृत्यु
Tuesday, May 9th, 2017, 3:51 am
amit
अमेरीका – चुरोट किन्न आएका एक ग्राहकको चक्कु प्रहारबाट अमेरीकामा भारतिय शिख युवकको मृत्यु भएको छ ।
क्यालिफोर्निया स्थित मोडेस्टो शहरको एक ग्रोसरी स्टोरमा काम गर्दै आएका भारत पञ्जाव कपुरथलाका ३२ वर्षिय जगजित सिंहले चुरोट किन्न आएका ग्राहकलाई आइडी कार्ड मागेपछि आइडी बिनाका ती ग्राहकले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते भएका सिंहको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय संचारमाध्यमले बताएका छन् ।
शुक्रबार राती करिब साढे ११ बजेतिर आफन्तको ग्रोसरी स्टोरमा काम गरिरहेका सिंहले चुरोट किन्न आएका ग्राहकको आइडी मागेपछि बिबाद भएको थियो । अमेरीकामा १८ वर्ष भन्दा मुनीकालाई चुरोट बच्न कानुनी बन्देज छ । मृतक सिंहले आइडी बिना चुरोट बेच्न इन्कार गरेपछि ती आइडी बिनाका ग्राहक बाहिर निस्किएर गइसकेपछि फेरी करिब आधा घण्टापछि फर्केर आएर चक्कुले हमला गरेको स्टोरमा काम गर्ने अर्का कामदारले बताएको संचारमाध्यमले उल्लेख गरेका छन् ।
करिब डेढ वर्षअघि अमेरीका आएका सिंहको मृत्युको खबरले भारतमा परिवार शोकाकुल भएको र भारतिय बिदेशमन्त्री शुष्मा स्वराजले घटनाबारे जानकारी लिएको बताइएको छ । चक्कु प्रकार गरेको भिडियोको आधारमा फरार ती व्यक्तिको खोजी तिब्र पारिएको स्थानीय प्रहरीले बताएको संचारमाध्यममले जनाएका छन् ।