शिलालेख राख्दा विवाद
Thursday, July 21st, 2022, 6:57 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ वडा कार्यालयमा शिलालेख राख्ने विषयमा विवाद भएको छ । बिहीबार निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदीले वडा कार्यालयमा आफैंले शिलालेख राख्न खोज्दा विवाद उत्पन्न भएको हो ।
आफ्नो कार्यकालमा जनताको पैसाबाट किनिएको ट्रयाक्टर र फोहोर व्यवस्थापन सम्बन्धी बनेको उपभोक्ता समितिको शिलालेख राख्न उनी वडा कार्यालय पुगेका थिए । आफ्ना समर्थकसहित वडा कार्यालयमा पुगेका निवर्तमान वडाध्यक्ष सुवेदीले शिलालेख राख्नका लागि आफंैले नापजोख गरेर छिनो चलाएर भित्ता फोडेका थिए । उनको कार्यविरुद्ध वडाध्यक्ष तरुण बज्राचार्यले चर्को विरोध गरे पनि उनले काम रोकेका थिएनन् ।
पछि स्थितिलाई नियन्त्रणमा लिन वडाध्यक्ष बज्राचार्यले प्रहरी बोलाएका थिए ।
सुवेदीले विगतमा आफूले नभ्याएको भन्दै अहिले शिलालेख राख्न खोजेको बताए । यता बज्राचार्यले भने वडा कार्यालयसँग कुनै समन्वय नगरेर आफूखुसी कानुन हातमा लिएर जबरजस्ती शिलालेख राख्न खोजिएको बताए ।

…..
वडाध्यक्ष बज्राचार्यले कालपृष्ठलाई भने, ‘आफूले बनाएको भवनमा मैले जे गरेपनि हुन्छ भन्ने दम्भ उहाँमा देखियो । वडाले यस विषयमा कुनै पनि निर्णय गरेको पनि छैन । न उहाँले वडा कार्यालयसँग समन्वय नै गर्नु भएको छ ।’
वडा कार्यालय १२ ले उक्त घटनामा निन्दा गर्द प्रेश वक्तव्य निकालेको छ । ‘गैर कानुनी तवरले आफूखुसी शिलालेख टाँस गर्ने नाउँमा छिना, हतौडा आदिको सहायताले कार्यालयको भित्री दिवाल तोडफोड गरी कार्यालयमा क्षति पुर्याएकोले उक्त कार्यको यस कार्यालय घोर निन्दा गर्दछौं,’ वक्तव्यमा उल्लेख गरिएको छ ।
त्यस्तै वक्तव्यमा जवरजस्ति सार्वजनिक सम्पत्ति तोडफोड गर्ने गैरकानुनी कार्य गर्ने जो कोहीलाई तत्काल कानुनी दायरामा ल्याउनसमेत अनुरोध गरिएको छ ।
यसअघिको २०७४ सालको स्थानीय चुनावबाट वडाअध्यक्षमा सुवेदी र वडासदस्यमा बज्राचार्य चयन भएका थिए । उनीहरु दुवै नेपाली कांग्रेसबाट चुनाव जितेका हुन् । भने २०७९ वैशाख ३० गते सम्पन्न चुनावमा सुवेदीलाई हराउँदै बज्राचार्य वडा अध्यक्षमा चयन भएका हुन् । यसपटक भने सुवेदी जनता समाजवादी पार्टी (जसपा) र बज्राचार्य कांग्रेसबाट चुनाव लडेका हुन् ।