संचालनमा ल्याइँदै होल्डिङ सेन्टर
Sunday, July 31st, 2022, 8:39 pm
Kalpristha
बाँकेको नेपालगन्ज उप–महानगरपालिका–१४, भवनियापुरमा निर्माण गरिएको होल्डिङ सेन्टरलाई संचालनमा ल्याउने तयारी भएको छ । जसका लागि आइतबार प्राविधिक टोलीले सो होल्डिङ सेन्टरको अनुगमन तथा मूल्यांकन गरेको छ । जसका लागि चिकित्सिकसहित प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री एवम् नेपाली बज्रदल गण राँझाका गणपति प्रमुख सेनानी श्याम आत्रेयलगायतले होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार होल्डिङ सेन्टरको भौतिक संरचना तथा आवश्यक संरचना निर्माणको अन्तिम चरणमा रहेको छ । खत्री संरचना पूरा भएपछि आवश्यकताअनुसार होल्डिङ सेन्टर संचालनमा ल्याउने तयारी गरिएको बताए ।
कुल २९ करोड ३८ लाख २० हजार रुपैँया लागतमा निर्माण गरिएको उक्त होल्डिङ सेन्टर नेपाली सेनाले निर्माणको जिम्मा लिएको छ भन निर्माणको जिम्मा हनुमान कन्स्ट्रक्सनले पाएको छ ।
निर्माण गरिएको होल्डिङ सेन्टरमा एक हजार बेड अट्ने २२ वटा ब्लक निर्माण गरिएको छ । एक हजार बेड मध्ये सय वटा बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । ब्लकलाई दुई भागमा बाँडिएको छ । ब्लकको दुवै तर्फ शौचालय निर्माण गरिएको छ ।
आइसोलेशन ब्लक र शौचालय भवन निर्माण गरिएको छ । कुल २२ ब्लक मध्ये दुई वटा कार्यालय, चिकित्सक र स्वास्थ्यकर्मीका लागि छुट्याइएको छ ।