स्थानीय तहका समस्या बोकेर केन्द्रमा जनप्रतिनिधि
Sunday, July 31st, 2022, 8:41 pm
Kalpristha
बाँकेका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु स्थानीय तहमा भएका समस्या बोकेर केन्द्र पुगेका छन् । नेपालगन्ज उप–महागनगरपालिकाका प्रमुख प्रशान्त विष्ट पनि नेपालगन्ज तथा बाँकेको समस्या बोकेर काठामाडौं पुगेका छन् ।
यसअघी शुक्रबार पनि बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकायलगायत टिम बैजनाथ गाउँपालिकाको समस्या लिएर काठमाडौं पुगेका थिए । उनीहरुले गाउँपालिकाको समग्र विकासमा देखिएका समस्या दर्शाउन विभिन्न व्यक्ति तथा निकायलाई भेटघाट गरेका थिए ।
उनीहरुले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, सदस्य सलोनी सिंह प्रधान, भूमी आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलालगायतलाई भेटेका थिए ।
उनीहरुले सो क्रममा सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न विशेष पहल गरेका थिए ।
त्यसैगरी आइतबार नेपालगन्ज प्रमुख विष्टले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई भेटेर नेपालगन्जको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । काठमाडौं पुगेर विष्टले नेपालगन्जको समग्र विकासबारे राईको ध्यानाकर्षण गराए ।
नेपालगन्जबाटै चुनाव जितेको नेपालगन्जबासी नै भएकाले नेपालगन्जको विकासका लागि सहकार्य गरेर अघि बढ्न विष्टले मन्त्री राईलाई आग्रह गरेका छन् ।
भेटघाटमा मन्त्री राईलाई नगर प्रमुख विष्टले पाँच बुँदे ध्यानाकर्षणपत्र समेत बुझाए ।
जसमा नेपालगन्जको जमुनाहादेखि मनिकापुरसम्मको असफाल्ट कालोपत्रे गरिनुपर्ने, जमुनाहदेखि राँझा चोकसम्म स्ट्रिट लाइट र ट्राफिक लाइट जडान गरिनुपर्ने, महत्वपूर्ण चोकहरुमा आकाशे पुल निर्माण गरिनुपर्ने, विभिन्न वडामा १५ किलोमिटर सडक तथा नाला निर्माण गरिनुपर्ने तथा अन्य सडक सुधार तथा स्तरोन्नतिका लागि पहल गरिदिनु आग्रहसहितको ध्यानाकर्षणपत्र बुझाइएको विष्टको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रमुख विष्टको ध्यानाकर्षणपत्रलाई सकारात्मक लिँदै मन्त्री राईले नेपालगन्जको समग्र विकासका लागि आफू सधैंभ तत्पर रहेको बताए । यी योजनाहरु कार्यान्वयनमा ल्याउने आफू प्रतिबद्धत्त रहेको भेटघाटमा राईले बताए ।