आदर्शमा प्रवेश परीक्षा दिनेको घुइँचो
Saturday, August 6th, 2022, 1:42 pm
Kalpristha
शनिबार नेपालगन्जमा रहेको आदर्श माध्यमिक विद्यालयमा कक्षा ११ को प्रवेश परीक्षा दिनेको गुइँचो देखियो । वडा नम्बर १० जेल रोडमा रहेको आदर्शमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।
आदर्शले हरेक वर्ष झै यो वर्ष पनि कक्षा ११ मा भर्ना हुने विद्यार्थीको प्रवेश परीक्षा लिएको हो । विद्यालयका प्रवन्धक ईश्वरप्रसार पोखरेल विद्यार्थीको क्षमता जाँच गर्न विद्यालयले हरेक वर्ष प्रवेश परीक्षा लिने गरेको बताउँछन् ।
प्रवेश परीक्षा दिएका सबै विद्यार्थी पास हुन्छन् भन्ने प्रश्नमा पोखरेल भन्छन्, ‘हैन केही विद्यार्थी फेल पनि हुन्छन् । अर्को हाम्रो विद्यालयको क्षमता पनि निश्चित छ । आफ्नो क्षमताभन्दा बढी विद्यार्थी लिएर उनीहरुलाई हामीले गुणस्तर दिन सक्दैनौ । जति विद्यार्थी लिन्छौं । उनीहरुलाई सोही अनुसारको गुणस्तर र उनीहरुको आवश्यकता पूरा गर्छौं ।’
नेपालगन्ज सहरलाई पश्चिम नेपालको शिक्षाको हबका रुपमा चिनिन्छ र यहाँ लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरु आउने गर्दछ । दर्जन बढी ११ र १२ कक्षा अध्यापन हुने कलेजहरु नेपालगन्जमा रहेका छन् । जसमध्ये आदर्श चर्चित नाम पनि हो र विद्यार्थीको रोजाइ तथा आकर्षण आदर्शमा बढ्दो देखिन्छ । जसको उदाहरण शनिबार प्रवेश परीक्षा दिने आउने विद्यार्थीको संख्याले देखाएको छ ।
शनिबार आदर्शले लिएको प्रवेश परीक्षामा ६ सय बढी विद्यार्थीको सहभागिता रहेको आदर्शका शिक्षक महेश्वर जोशीले बताए । जसमा बाँकेलगायत, बर्दिया, सुर्खेत, दाङ, जाजरकोट, अछाम, धनगढी, महेन्द्रनगर क्षेत्रका विद्यार्थीको उपस्थिति रहेको थियो ।
आदर्शमा भर्ना खुलेको ५ दिनको अन्तरमा सो विद्यार्थीहरु प्रवेश परीक्षा दिन आइ पुगेका हुन् । अझै पनि धेरै विद्यार्थीहरु आउने प्रवन्धक पोखरेलले बताए । उनी आदर्शको गुणस्तरले गर्दा ५ दिनको अन्तरमा यति धेरै विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएको बताउँछन् ।
आदर्शले पछिल्लो समय बाँके सँगसँगै जिल्लाभन्दा बाहिर पनि आफ्नो पहिचान बढाएको छ । यसमा विद्यालयको व्यवस्थापन र गुणस्तरसँगै आदर्शबाट पढाई पूरा गरेका विद्यार्थीको पनि योगदान रहेको पोखरेलले बताए । ‘हामीले गुणस्तरमा कुनै कम्परमाइज गर्दैनौं । विद्यार्थीलाई सन्तुष्ट बनाउने हरसम्मद हाम्रो प्रयास हुने गर्दछ । त्यसैले यहाँबाट पासआउट भएका विद्यार्थीले पनि आदर्शको प्रचार गरेका हुन्छन् ।’