वरिष्ठ उपाध्यक्ष केसीलाई सम्मान
Saturday, August 6th, 2022, 6:54 pm
Kalpristha
नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई प्रेस युनियनले सम्मान गरेको छ । शनिबार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेर नेपाल प्रेस युनियनको केन्द्रीय पदमा विजयी भएका बाँकेका पत्रकारहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रेम केसीलगायत केन्द्रीय सदस्यमा निर्वाचित शोभा खत्री केसी र कमला हमाललाई सम्मान गरिएको छ । यद्यपी कार्यक्रममा भने व्यस्थताका वाबजुत केसी र हमाल भने उपस्थित हुन सकेनन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बालमिकी, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वलीले दोसल्ला ओडायर मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा बाँकेले पहिलोपटक निणर्ायक पदमा जितेको बताए । यसअघि वरिष्ठ उपाध्यक्षसम्मको पदमा बाँकेबाट कसैले पनि प्रतिनिधित्व गर्न सकेका थिएनन् ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केसीले प्रेस युनियनको लुम्बिनी प्रदेशको चुनावमा पनि बाँकेले प्रमुख पद पाउने बताए । उनले बाँकेमा रहेका सबै प्रेस युनियनका सदस्य एकजुट भए बाँकेले प्रदेश अध्यक्ष तथा सचिव पाउने बताएका हुन् ।
कार्यक्रममा केन्द्रीय सदस्य बालमिकी तथा बाँके सभापति गौडेलले स्थानीय चुनावमा प्रेस युनियनले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन उल्लेखनिय भूमिका खेलेको बताए । साथै बाँकेमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका स्थानीय तहमा प्रेस युनियनका साथीहरुलाई प्रेस सल्लाहकारमा राख्न बाँके कांग्रेसले समन्वय गर्ने बताए ।
कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्ष वली, नेपालगन्ज उप-महानगरपालिकाका निवर्तमान उप-प्रमुख उमा थापामगरलगायतले नेपाली कांग्रेसका उम्मेदवारले जितेका स्थानीय तहमा प्रेस युनियका सदस्यबाहेकका पत्रकारलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको भन्दै आपत्ति जनाएका थिए ।
उनीहरुले पार्टीका उम्मेदवारलाई जिताउन सहयोग गर्ने प्रेस युनियनका सदस्यलाई बेवास्था गरे संघ र प्रदेशको चुनावमा नेपाली कांग्रेसले कम सिट ल्याउन सक्नेसमेत बताए ।