रकम हिनामिनाको आरोप लागेका प्रवन्धक सम्पर्कविहीन
Sunday, August 7th, 2022, 9:05 pm
Kalpristha
बर्दिया जिल्लाको गुलरियामा रहेको नेपाल बैंक शाखाका प्रबन्धक धबेन्द्र न्यौपाने सम्पर्कविहीन रहेका छन् । उनीमाथि रकम हिनामिना गरेको आरोप लागेको छ ।
गत बुधबारदेखि उनी सम्पर्कविहीन भएको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जनाए । उनले बैंकमा भएको रकम हिनामिना गरेको थाहा पाएपछि केन्द्रीय कार्यालय काठमाडौंबाट छानबिन गर्न अनुसन्धान टोलीसमेत पठाएको छ ।
न्यौपानेलाई गत चैत २४ गतेमा शाखा म्यानेजरको रूपमा पठाएको थियो । यसअघि उनी सुर्खेतको वीरेन्द्रनगरको शाखामा थिए । उनले नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेका थिए ।
सुर्खेतबाट म्यानेजरमा प्रमोसन गरी गुलरिया पठाइएक न्यौपानेले गुलरिया पुगेरमात्रै हिनामिना गरेका भने होइन । उनले वीरेन्द्रनगरमै हुँदा हिनामिना गरेको खुलेपछि गुलरियामा पनि अनुसन्धान थालेको प्रवक्ता अधिकारीले बताए ।
बैंकले न्यौपाने रकम हिनामिना गरी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा पनि जाहेरी दिएको छ ।
जाहेरीअनुसार न्यौपानेको खोजी गरिरहेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार ४० देखि ५० लाख रुपैयाँ हिनामिना गरेको न्यौपानेमाथि अरोप छ ।
बैंकले बर्दियासँगै बाँके, कञ्चनपुर, कैलाली र सुर्खेत प्रहरीलाई समेत खोजी गरिदिनू भन्दै पत्राचार गरेको छ । सम्पर्कविहीन भएका न्यौपानेको खोजी गरिदिन भन्दै बैंकले मात्रै नभई परिवार समेतले कार्यालयमा निवेदन दिएको छन् ।