डुडुवामा स्वास्थ्यको वार्षिक समीक्षा
Sunday, August 14th, 2022, 6:43 pm
Kalpristha
डुडुवा गाउँपालिकास्तरीय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गरिएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०७८/०७९को वार्षिक समीक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समीक्षा गरी कार्ययोजना निर्माण गरिएको हो ।
समीक्षा कार्यक्रममा पालिकाले प्रवाह गर्ने स्वास्थ्यअन्तर्गत विभिन्न सेवाहरुको उपलब्धी, प्रगति, समस्या तथा चुनौतीसहितको प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले प्रस्तुतीकरण गरे ।
प्रस्तुतीकरणका क्रममा डुडुवाले उपलब्ध गराउने स्वास्थ्य सेवाहरुको प्रभावकारिता र गुणस्तरियसँगै उत्कृष्ट कार्य गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

….
सभाको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उत्कृष्ट कार्य गरेकोले नै जिल्लामा पहिलो स्थान हासिल गरेको बताउँदै स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन विशेष नीति तथा कार्यक्रम रहेको बताए । उनले पालिकामा दुईवटा अस्पताल निमार्णको योजना रहेको भन्दै तीन स्थानमा संचालित नि:शुल्क प्रयोगशालालाई वृद्धि गरी ६ वटै वडामा विस्तार गर्ने योजना रहेको बताए ।
पालिकाले स्वास्थ्य र पशुलाई पहिलो प्राथमिकतामा राखेकाले स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित नहुन भनेर विभिन्न सेवाहरु प्रदान गर्दै आएको जानकारी गराउँदै अध्यक्ष चौधरीले समुदायमा खटिने महिला स्वास्थ्य स्वयम् सेविका र आमा समूहले निस्वार्थ रुपमा सेवा गर्दै आएकाले समुदायिक स्वास्थ्य सेवामा उनीहरुको ठूलो योगदानको कदर गरे ।
कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खा, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, वडा सदस्य, सबै स्वास्थ्य चौकी इन्चार्ज, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविकालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सबै वडामा प्रवाह हुने स्वास्थ्य सेवाको प्रभावकारिता र समस्याका बारेमा जानकारी गराइएको थियो । प्रस्तुतीपछि भएको छलफलपश्चात उठेका विभिन्न समस्या तथा सवाललाई सम्बोधन गर्न आगामी वर्षका लागि वार्षिक कार्ययोजना समेत निमार्ण गरिएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र घलेले बताए ।