पत्रकार उदयराजको परिवारलाई आर्थिक सहयोग
Monday, August 15th, 2022, 5:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, ३० साउन
ब्रेनह्यामरेज भएर उपचार गराईरहेका पत्रकार उदयराज जैसवाललाई नेपाल प्रेस युनियन बाँकेले आर्थिक सहयोग गरेको छ ।
सोमबार नेपाल प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा जैसवालको परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । अध्यक्ष ओलीले उदयराजकी धर्मपत्नी रानी जैसवाललाई १० हजारको चेक प्रदान गरे ।
डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टी निवासी उदयराजको एक महिना अघि स्वास्थ्यमा समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रदैं गएपछि भारतको लखनउमा उनको उपचार भैरहेको छ । ३२ वर्षीय उदयराज नेपाल प्रेस युनियनको साधारण सदस्य हुन् । बाल क्लबहुँदै पत्रकारितामा सक्रिय भएर उनले काम गरिरहेका थिए ।
आर्थिक अवस्था कमजोर भएका जैसवाललाई थोरै भएपनि राहत मिलोस भनेर आर्थिक सहयोग गरिएको नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बताए ।
उनले भने, ‘युनियनले पत्रकारलाई समस्या परेका बेला आर्थिक सहयोग गर्ने भन्ने उद्देश्यले पत्रकार कल्याकारी कोष स्थापना गरेको छ । कोषमा धेरै रकम छैन । तर पनि हामीले समस्यामा परेका पत्रकार साथीहरुलाई सहयोग गर्ने कार्यको सुरुआत गरेका छौं । आगामी दिनमा यसलाई थप सशक्त बनाएर लैजानो योजना छ ।’
अध्यक्ष ओली नेपाल प्रेस युनियन बाँके सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, सदस्यद्धय कमल खत्री र दिपक राईले उदयराजको परिवारलाई भेटेर थप आर्थिक सहयोग गर्ने बारेमा कुराकानी गरेका थिए ।
उदयराजकी पत्नी रानी जैसवालले सहयोग गरेकोमा नेपाल प्रेस युनियन परिवारलाई धन्यवाद दिईन् । उपचार गर्न आर्थिक रुपमा महँगो भएका कारण जग्गा बेचेर श्रीमान्को उपचार गरिरहेको उनले बताईन् । हाल सम्म उपचारमा करिब १२ लाख रकम खर्च भैसकेको रानीले कालपृष्ठ दैनिकलाई बताईन् ।
उदयराजको परिवारमा श्रीमती सहित तीन छोरी, एक छोरा र आमा रहेकी छिन । बृद्ध अवस्थामा रहेकी आमा पनि प्यारालाईसिस कारण विगत चार वर्ष देखी थला परेकी छिन् । उदयराजको उपचारमा उनी निकट साथीहरुले पनि सहयोग गर्दै आएका छन् । पत्रकार भिष्म लोधको नेतृत्वमा बाल क्लबमा आवद्ध भएर काम गरेका साथीहरुले पहिलो पटक ५४ हजार ८ सय र दोस्रो पटक १४ हजार रुपैयाँ सहयोग गरेका थिए ।
जैसवाल परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सबैलाई आर्थिक सहयोग गर्न उनको परिवारले अपिल गरेको छ ।