नागरिकता विधेयक सच्याउन राष्ट्रपतिको आग्रह
Monday, August 15th, 2022, 6:44 pm
Kalpristha
कालपृष्ठ डेस्क
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाउँदै सच्याउन आग्रह गरेकी छन् । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आमाको नामबाट नागरिकता लिन बाबु नभएको स्वघोषणा गर्नुपर्ने विषयमा प्रश्न उठाएकी हुन् ।
राष्ट्रपति भण्डारीले पठाएको पत्र सोमबार संसद सचिवालयमा पुगेको हो । उक्त पत्रमा राष्ट्रपतिले विभिन्न १५ बुँदा उल्लेख गरेकी छन् ।
जसमा राष्ट्रपतिको कार्यालयले सम्माननीय राष्ट्रपति ज्यूको सन्देश विषयमा संविधानको मौलिक हक र महिलाको हकसँग तादात्म्य राख्न नसकेको भन्दै सच्याउन आग्रह गरिएको छ । जसमा ॅस्वघोषणाको प्रावधानले बालबालिकाको मौलिक हकसम्बन्धी संविधानको धारा ३९ र महिलाको प्रजनन् एवं मातृत्व अधिकार सुनिश्चित गर्ने धारा ३८ सँग तादात्म्य राख्न नसकेकाले सच्याउन आग्रह गरिएको छ,’ उल्लेख छ ।
महिलाको प्रजननसम्बन्धी गोपनीयतालाई सन्तान र राज्यसामु अभिलेखीकरण गरिएको अवस्थामा महिलाको आत्मसम्मान र निजी जीवनको गोपनीयतासमेत नरहने र यसबाट आमाले अझै अपमानित हुनुपर्ने अवस्था देखिएको भन्दै सच्याएर मात्र ऐन बनाउनुपर्ने राष्ट्रपतिले सुझाव दिएकी छन् ।
ॅमातृत्व र प्रजननका लागि बाबुको अनिवार्यता नहुने पक्षलाई संविधानले नै आमाको मौलिक हक मानिसकेपछि नागरिकताका लागि ऐनद्वारा खोजी गरिने बाबुबारे स्वघोषणाले एकातिर संविधानसँग तादात्म्य कायम गर्नुपर्छ भने अर्कातिर यसले आमाको आत्मसम्मानमाथि के कति न्याय गर्न सक्छ भन्ने प्रश्न झनै गम्भीर र विचारणीय हुन आउँछ,’ सन्देशमा भनिएको छ ।
त्यस्तै ॅयो प्रश्न संविधानको धारा १६ लाई सँगै राखेर गरिएको खण्डमा अझ प्रासंगिक र स्पष्ट हुन सक्छ । यो धाराले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ । यसमा कुनै अपवाद लागू हुन नसक्नेतर्फ समेत सम्मानित संसदको ध्यानाकर्षण हुनु आवश्यक छ ।’ लेखिएको छ ।
यी सुझाव दिनुअघि राष्ट्रपति भण्डारीले यसबारे सैद्धान्तिक रूपमा प्रस्ट हुनुपर्ने प्रश्नहरू गरेकी थिइन् ।