नयाँ नेतृत्व पाउँदैं पुस्तकालय
Monday, August 15th, 2022, 8:36 pm
Kalpristha
महेन्द्र पुस्तकालय २०५४ सालयता व्यवस्थापन समिति विहीन बनेको थियो । २०५२ सालमा समितिको अध्यक्ष भएका कन्हैयालाल टण्डनले आफ्नो कार्यकाल सकिएपछि नयाँ टिमलाई पुस्तकालय हस्तान्तरण गरेका थिएनन् ।
त्यसपछिका वर्षमा पुस्तकालयको अध्यक्षका रुपमा चौवेले पुस्तकालयको रेखदेख र संरक्षण गर्दै आए । व्यवस्थापन समिति विहीन भएको अवस्थामा टण्डन र चौवेले नयाँ समिति गठनको लागि प्रयास नगरी विधान विपरित संचालन गरेको तदर्थ समितिको ठहर छ । त्यसपछि २०७६ सालदेखि पुस्तकालय पूणर्रुपमा बन्द भयो ।
चौवेले आफ्नो उमेर र स्वास्थ्यका कारण पुस्तकालय रेखदेख र संचालन गर्न नसक्ने व्यहोरा सहित २०७८ माघ १७ गते राजिनामा दिए । साथै उनले आफूले तोकिएको तलब राजिनामा मिति सम्म नलिएको र उक्त तलब पनि उपलब्ध गराइनुपर्ने माग राजिनामा पत्रमा उल्लेख गरेको महेन्द्र पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताए ।
सो पश्चात जिल्लामा पुस्तकालयको संरक्षण र समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति रह्यो । जसमा जिल्ला प्रशासनदेखि सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवाला व्यक्तिहरु सदस्य रहे ।
त्यसपछि महेन्द्र पुस्ककालयको अवस्थाबारे छानबिन गर्न व्यवसायी अजय टण्डनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । पुस्तकालयमा साढे दुई दशकदेखि व्यवस्थापन समिति नरहेको, पुस्तकालय लामो समयदेखि बन्द रहेको, पुस्तक र आर्थिक हरहिसाब दुरुस्त नभएको एवं पुस्तकाअध्यक्ष सच्चिदान्नद चौवेले राजीनामा दिएको अवस्थामा यर्थात अवस्था यकिन गर्न छानबिन समिति गठन गरिएको थियो ।
उक्त छानविन समितिले निकालेको प्रतिवेदनमा आर्थिक अनियमितता एवम् पुस्तकको हिसाव दुरुस्त भएको निस्कर्ष निकाल्यो ।
पछि २०७८ चैत २८ गते नेपाल सरकार शिक्षा मन्त्रालयका पुस्तकालय निर्देशिका अनुसार गठन भएको जिल्ला पुस्तकालय व्यवस्थापन समितिका अध्यक्षको हस्तक्षेपबाट आजीवन सदस्यहरुको भेलाबसी आजीवन सदस्यबाट १२ जनालाई तदर्थ समिति गठन गरियो ।
उक्त समितिले पुस्तकालयलाई व्यवस्थित गर्दै समायानुकुल विधान गरिमार्जन गरी नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवादी दिइएको थियो । तर विभिन्न कारणवस तीन महिनामा तदर्थ समितिले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः २०७९ असार २९ गते भदौ मसान्तसम्म काम सम्पन्न गर्ने म्याद थप गरियो ।
यसैबीचमा उक्त समितिले भदौ ३ गते अमृत महोत्वस सम्पन्न गर्ने र भदौ २८ गते निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
अध्यक्ष यादव भदौ मसान्तसम्म निर्वाचन सम्पन्न भई पुस्तकालयको नयाँ कार्यसमितिलाई पुस्तकालयको कार्यभार सुम्पने बताउँछन् ।